कसरी गर्ने बीमा कम्पनीको मूल्यांकन ? हेर्नुस् १४ सूचक

१४ चैत, काठमाडौं । सेयर बजारमा बीमा कम्पनीहरुको सेयर मूल्य निकै आकर्षक देखिन्छ । भविष्यको सम्भावना हेरेर यसमा लगानीकर्ताको चाप परिरहेको देखिन्छ । यी बीमा कम्पनीहरुमा लगानी गर्नुअघि लाभांशमात्र नहेरेर यस्ता कम्पनीको मूल्यांकन गर्न पनि जान्नु पर्छ ।

बीमा कम्पनीहरुले पनि बैंकहरुले जस्तै हरेक तीन/तीन महिनामा वित्तीय विवरण प्रकाशित गर्छन् । त्यसबाहेक बार्षिक रुपमा वित्तीय प्रतिवेदन पनि सार्वजनिक गर्ने गर्छन् । बैंकहरुभन्दा फरक प्रकृतीको व्यवसाय गर्ने यी संस्थाको वित्तीय विवरण बुझ्न केही जटिल पनि मानिन्छ । बीमा कम्पनीहरुबीचमै पनि केही हदसम्म वित्तीय विवरणमा एकरुप भएपनि कहिले काँही उनीहरुले अपनाउने फरक प्रस्तुतीले वित्तीय विवरण बुझ्न झन् कठिन हुने गरेको छ । यद्यपी बीमा कम्पनीहरुको त्रैमाशिक वित्तीय विवरण र बार्षिक प्रतिवदनमा उल्लेख हुने यी १० सूचकले कम्पनी छनौट गर्न सहयोग पुग्न सक्छ :

बचत तथा बीमा कोष

जीवन बीमा कम्पनीहरुले नाफा नोक्सान हिसाब र एकिकृत आय व्यय हिसाब दुई वटा देखाउँने गर्छन् । एकिकृत आय व्यय हिसाबमा बीमा शुल्क, लगानी वा कर्जाबाट भएको आम्दानीबाट दाबी भुक्तानी, आयकर लगायतका खर्च कटाएपछि हुने रकमलाई जीवन बीमा कम्पनीहरुले बचत भनेर उल्लेख गर्छन् । यो बचतबाट केही रकम नाफा नोक्सान हिसाब खातामा र बढि रकम जीवन बीमा कोषमा सारिन्छ ।

जीवन बीमा कम्पनीहरुले बीमा गर्ने व्यक्तिको मूत्यु नभएमा पनि बीमा अवधि सकिएपछि भुक्तानी दिनुपर्ने हुन्छ । यसको लागि बचतबाट धेरै रकम जीवन बीमा कोषमा राखिन्छ । पछि कम्पनीको एक्चुअरी मूल्यांकन भएर दायित्वभन्दा बढि रकम देखिएमा त्यो रकमलाई ९ र १ अनुपातमा बिभाजन गरिन्छ । यसमध्ये १ अनुपातमा हुने रकमलाई कम्पनीले नाफामा देखाउँन पाउँछन् भने ९ अनुपातको रकम बीमा गर्ने (बीमतिले) पाउने बोनस दर तोक्न प्रयोग गरिन्छ । त्यसैले बचत तथा जीवन बीमा कोषको आकार पनि याद गर्नुपर्छ ।

खुद चालु सम्पत्ती

चालु सम्पत्तीबाट चालु दायित्व घटाएर खुद चालु सम्पत्ती निकालिन्छ । यसले कम्पनीको अल्पकालिन अवस्था कस्तो छ भन्ने हेर्न सहयोग गर्छ ।

प्रति सेयर आम्दानी

प्रति सेयर आम्दानी निकाल्ने शुत्र हुन्छ । कम्पनीहरुले वित्तीय विवरणमा पनि यो उल्लेख गर्ने गर्छन् । आफैले पनि यसको हिसाब गर्न सकिन्छ । यसको लागि बार्षिक आम्दानी (हिसाब गर्न लिइने नयाँ बैमाशको नाफा र अघिल्लो वर्ष अन्त्यको नाफामा अघिल्लो त्रैमाशको नाफा घटाएर आउने परिणाम) लाई कायम सेयर संख्याले भाग गरेर निकालिन्छ । यसरी निकालिएको आम्दानी तीन महिनासम्म उपयुक्त हुन्छ । यसलाई बार्षिकिकरण गर्ने हो भने फरक शुत्र प्रयोग गर्नु पर्छ ।

मूल्य आम्दानी अनुपात

पछिल्लो सेयर मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेर निकालिन्छ । यो अनुपात १८ देखि २५ सम्मको हाराहारीमा भए राम्रो मानिन्छ । यो अनुपातले कम्पनीले कमाएका १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ हालिरहेका छन् भन्ने देखाउँछ । हरेक बीन महिनाको प्रतिसेयर आम्दानी लिने गरिएमा कम्पनीको वित्तीय विवरणमा नआएको समयमा पनि मूल्य आम्दानी अनुपात निकाल्न सकिने हुन्छ । हुनतः बीमा कम्पनीहरुको मूल्य आम्दानी अनुपात निकै उच्च छ , यसले सेयर मूल्यलाई सपोर्ट गर्दैन् । यद्यपी लगानीकर्ताहरु कम्पनीको चुक्ता पुँजी वृद्धि हुने आशमा लगानी बढाइरहेका देखिन्छन् ।
प्रतिसेयर नटवर्थ

कम्पनीको कुल सम्पत्तीबाट कुल दायित्व घटाएरआउने परिणामलाई नेटवर्थ भनिन्छ । नेटवर्थलाई कायम सेयर संख्याले भाग गरेर प्रतिसेयर नेटवर्थ निकालिन्छ । नेटवर्थलाई बुक भ्यालु पनि भनिन्छ । यो कम्पनीहरुले नै पनि हरेक त्रैमाशिक वित्तीय विवरणमा उल्लेख गरेका हुन्छ । जुन कम्पनीको यो दर उच्च छ, त्यो कम्पनी राम्रो मानिन्छ ।

पीबी रेसियो

कम्पनीको सेयर बजारमा कायम हालको मूल्यलाई बुक भ्यालु पर सेयर अर्थात् प्रतिसेयर नेटवर्थले भाग गरेर पीबी रेसियो निकालिन्छ । यो अनुपात जति धेरै भयो त्यति राम्रो मानिन्छ ।

सोल्भेन्सी दर

बीमा कम्पनीको दायित्वको तुलनामा कम्पनीको पूँजीकोष, जगेडा तथा सम्पत्ती पर्याप्तताको मूल्यांकन गर्दछ । बीमा समितिको निर्देशन अनुसार जीवन र निर्जीवन बीमा कम्पनीको लागि यो दर १.५ हुनुपर्ने व्यवस्था छ । यो दर १ प्रतिशतभँदा पनि कम भएमा कम्पनीमा थप पुँजी लगानी गर्नुपर्ने मानिन्छ । त्यस्तै, यो दर जति धेरैभयो उति राम्रो मानिन्छ । यो दर भने बार्षिक प्रतिवेदनमा नै उल्लेख हुन्छ ।

दायित्व धारण

यो शीर्षकमा कम्पनीले सञ्चालन गरेका बिभिन्न बीमा योजनाहरुको विवरण हुन्छ । यो भागमा कम्पनीले गरेको बीमामा कति हिस्सा आफुले दायित्व वहन (रिटेन) गरेको छ र कति पुनरबीमा कम्पनीमा सारेको छ भन्ने उल्लेख हुन्छ । कम्पनीले सञ्चालन गरेको हरेका योजनाको यस्तो विवरण हुन्छ । कम्पनीहरुले धेरै दायित्व पुनरबीमा कम्पनीमा सारेको कारण नै सबै क्षति आफुले व्यहोर्न परेको थिएन । त्यसैले यो जानकारी प्राप्त गर्न पनि यसमा ध्यान दिनुपर्ने हुन्छ । यो विवरण पनि बार्षिक प्रतिवेदनमा मात्रै भेटिन्छ ।

कुल बीमा शुल्क आर्जन

बीमा कम्पनीहरुले बीमा शुल्क आर्जनलाई दुईवटा शीर्षकमा देखाएका हुन्छन् । कुल बीमा शुल्क आर्जनले कुनै निश्चित अवधिभर कमाई भएको बीमा शुल्कलाई बुझाउँछ । यसमा पुनरबीमा कम्पनीलाई दायित्व सारे वापत तिनुपर्ने रकम घटाएको हुदैन् ।

खुद बीमा शुल्क आर्जन

यो शीर्षकमा भने पुनरबीमा कम्पनीलाई दायित्व सारे वापतको रकम घटाएपछि कम्पनीले आफुले पाउने रकम उल्लेख गरिएको हुन्छ । पुनरबीमा कम्पनीको आफ्नो सुरक्षाको आधार भएपनि यस्तो शुल्कले कम्पनीको आम्दानीको केही हिस्सा गुमिरहने हुन्छ । कम्पनीको आफ्नो क्षमता दरिलो हुनेहरुले भने कम दायित्व पुनरबीमा कम्पनीमा सारेर आफुले धेरै दायित्व लिने पनि गर्छन् । हुनतः पुरबीमा गरेवापत कम्पनीहरुले केही प्रतिशत कमिशन भने पाउँछन् र यो आम्दानीको रुपमा रहन्छ । तर यो कमिसन रकम तिर्नुपर्ने रकमभन्दा निकै कम हुन्छ ।

कायम बीमा लेख

कम्पनीले हरेक वर्ष नयाँ बीमालेख जारी गरिरहेको हुन्छ । बीमा लेखको संख्याले त्यो कम्पनीले कति वटा बीमा गरेको छ भन्ने जनाउँछ । जीवन बीमा कम्पनीहरुमा भने केही लामो अवधिको समेत बीमा लेखहरु हुन्छन् । यद्यपी कति बीमा लेख नयाँ जारी भए वा कायमको संख्या कति छ यसले पनि कम्पनीले कस्तो व्यवसाय गरिरहेको छ भन्ने देखाउँछ । जीवन बीमा कम्पनीमा नयाँ बीमा लेखको संख्या कति बढ्दै छ र कति कायम बीमा लेख छ भनेर अलग अलग हेर्दा व्यवसाय बढ्दो दरमा रहे नरहेको थाहा लाग्छ ।

बाँकी दाबी भुक्तानी

बीमा कम्पनीहरुले भुकम्पयता पनि राम्रै भुक्तानी गरिरहेका छन् । तर कतिपय संस्थाको भूकम्पको कारण परेको दाबी मात्र नभई अन्य दाबी पनि उच्च छ । कम्पनीले रिटेन गरेको मात्रा धेरै रहेमा पनि दाबी भुक्तानीमा समस्या हुनसक्छ । कतिपय कम्पनीको सबै किसिमको बाँकी दाबी भुक्तानी ५ अर्ब रुपैयाँ सम्म रहेको वित्तीय विवरणमा उल्लेख छ । हुनतः यसमध्ये कति दाबी लाग्न वा नलाग्ने हुन पनि सक्छ । तर लगानीकर्दा यस्तो भुक्तानी हुन बाँकी दाबी पनि याद गर्नु सही हुन्छ ।

महाविपत्ती जगेडा कोष

बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीले नाफा नोक्सान हिसाबको कर कटाएपछि हुने रकमको ५० प्रतिशत रकम राख्नुपर्ने हुन्छ । महा विपत्ती कोषमा राखिएको रकम भुकम्प, बाढि पहिरो लगायतको कारण पर्ने दाबी भुक्तानीमा प्रयोग हुन्छ ।

लगानीकर्ताको स्वामित्वमा भएको परिवर्तन

हरेक संस्थाले ०.५ प्रतिशत वा १ प्रतिशतभन्दा बढि सेयर लगानी हुनेको जानकारी बार्षिक वित्तीय विवरणमा दिनुपर्ने व्यवस्था छ । यसले संस्थामा महत्वपूर्ण मानिएका सेयर धनीहरुको सेयर हिस्सा घटबढ के भइरहेको छ भन्ने जानकारी दिन्छ । कुनै नयाँ समूहले सेयर होल्डिङ बढाउँदै छन् वा पुराना सेयर धनीले बेच्दै छन् कि भन्ने जानकारी पनि यसबाट पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार