सगरमाथाको आधारशिबिरमा संकलन हुने मानव मलमूत्रबाट ग्याँस निकालिने

टुरिजमन्युज, ३१ चैत । सगरमाथा आधारशिविरमा संकलन हुने मानवमलमूत्रबाट ग्याँस निकालिने भएको छ । ५ हजार ३ सय मिटर उचाईको आधार शिविरबाट सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) ले मानव मलमूत्र गोरकसेपमा ब्यबस्थापन गर्दै आएको थियो । ५ हजार १ सय ६४ मिटरको उचाईमा रहेको गोरकसेपमा फोहोरको मात्र बढेकाले डम्पिङ साइड लोबुचे छेउमा सारिएको हो । त्यहाँपनि समस्या बढ्न थालेकापछि मानव मलमूत्रबाट खाना पकाउने ग्याँस उत्पादन गर्ने विकल्प खोजिएको एसपीसीसीले जनाएको छ ।
सगरमाथा क्षेत्रको मानव मलमूत्रलाई ग्याँसमा परिवर्तन गर्न सकिने एक अध्ययनले देखाएको छ । एसपिसीसीले  समस्या समाधानका लागि अमेरिकी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय (केयू) को सहकार्यमा सगरमाथा बायोग्याँस परियोजनाको नामबाट अनुसन्धान गरेको बताएको छ । सगरमाथा आधारशिविरबाट संकलन गरिएको मानव मलमुत्रको नमूना १० महिनासम्म वातावारण विज्ञान प्रयोगशालामा राखि अध्ययन गरिएको थियो ।
सन् २०१६ मा गरिएको अध्ययनले मानव मलमूत्रबाट न्यूनतम २० डिग्री सेल्सियस तापक्रममा बायोग्याँस उत्पादन गर्न सकिने निष्कर्ष निकालेको छ । अनुसन्धान सफल भएसंगै गोरकशेप क्षेत्रमा बायोग्याँस प्लान्ट बनाउन शुरु गरिएको छ । तीन हजार ७ सय ९० मीटर उचाईमा रहेको सोलुखुम्बुकै खुम्जुङमा बायो सेक्टर पार्टनरसिप नेपालले यस अघि नै बायोग्याँस प्लान्ट बनाएको छ ।
सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न आधारशिविर पुग्ने आरोही र उनीहरूका सहयोगीले कम्तीमा आठ किलोग्राम फोहोर फिर्ता ल्याउनुपर्ने नियम छ । उनीहरूले काँच, धातु र प्लाष्टिकजन्य फोहोर फर्काउने गरेका छन् । आधारशिविरको मानव मलमूत्र भने एसपीसीसीको व्यवस्थापनमा भरियालाई बोकाएर गोरकशेप झार्ने गरिएको छ ।
सगरमाथाको आधार शिविरमा सन् २०१४ मा ८ हजार ९ सय ९८ किलो मानव मलमुत्र संकलन गरिएको थियो भने सन् २०१५ मा ५ हजार ९ सय र सन् २०१६ मा १० हजार ४ सय २५ किलो मानव मलमुत्र संकलन गरेको एसपीसीसीको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार