देम्वाहिल पर्यटकीय गन्तब्य बन्दै

टुरिजमन्युज, ३ बैशाख । नयाँ वर्षको आगमनकै दिन ओखलढुंगेलीहरु ऐतिहासिक थोलेदेम्वा महोत्सवमा रमाए । नेपालमा रहेका उच्च स्थानमध्येको देम्बा डाँडामा आयोजित महोत्सव स्थल खिजीदेम्वाबासीलाई  नयाँ वर्ष मनाउने ऐतिहासिक अवसर जुर्यो । सदरमुकामबाट ताक्लुङसम्म ६५ किलोमिटर सडक सोलुखुम्बुको सीमाना हुदै पुगिन्छ । त्यहाँबाट तीन घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ देम्बा । त्यहाँबाट दर्जनबढी हिमश्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । पूर्व र पश्चिमका धेरै जिल्लाका सदरमुकाम, हलेसी महादेव र सगरमाथालाई नजिकबाट नियाल्न सकिन्छ, यो हो देम्बाको विशेषता । त्यसो त रामेछापको रगनी खिजीफलाटेसम्मको सडकयात्रापछि दुई घण्टा हिडेर पनि देम्वा जान सकिन्छ ।
एक वर्ष अघि तय गरिएको कार्यक्रम भएकाले महोत्सव उद्घाटन तथा ५० फिट अग्लो भ्यू टावरको शिलान्याश राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभयो । महोत्सवको साँस्कृतिक कार्यक्रम तीन दिनसम्म चलेको थियो । रोज मोक्तान, इन्द्र गुरुङ लगायतका दर्जन बढी राष्ट्रिय कलाकारहरुले उनीहरुलाई नचाए । यसका अतिरिक्त आकर्षणको मुख्य केन्द्र पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, नेता तथा सांसदहरु र प्याराग्लाइडिङ रह्यो । देम्बाको विकासका लागि पहल गर्ने सबैले प्रतिवद्धता जनाएका छन् । सांसद यज्ञराज सुनुवारको सहयोगमा खानेपानी र विद्युत जडान भएको छ यहाँ । यसको दिर्घकालीन विकासका लागि लिफ्टिङ प्रविधीबाट पानी जोड्ने प्रयास भइरहेको महोत्सव आयोजक समितिका आर्थिक संयोजक तेञ्जी शेर्पाले बताउनुभयो । देम्वामा भ्यूटावर बनेपछि यसलाई पाँच वर्षभित्र पर्यटकीय पदमार्ग बनाउने योजना रहेकाले महोत्सव आयोजनाका लागि एक वर्षदेखी अभियान चलाउँदैं आएको सांसद यज्ञराज सुनुवारले बताउनुभयो ।
पोकली झरना हुँदै देम्वा पुगेर सगरमाथा जाने पदमार्ग र देम्वाहुँदै राँगादिपको सेप्ली झरना हेरेर ओखलढुंगा–हलेसी पर्यटकीय मार्ग बनाउन सके यस देम्वाको मात्र नभइ समग्र जिल्लाको विकासमा महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ । यस क्षेत्रमा पर्यटनको विकास गर्न राष्ट्रपति भण्डारीले समेत सुझाव दिनुभयो । पोकली झरना आउने पर्यटकहरुलाई देम्वा हुँदै सगरमाथा जाने बैकल्पिक पद मार्ग बनाउन पहल गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । पोकली झरना हेरेर सगरमाथा हेर्न देम्वा जाने र पिके हुँदै सगरमथा जाने पद मार्ग बनाउन पहल गरिने सांसद सुनुवारले बताउनुभयो । उहाँले ओखलढुंगाको समृद्धि कृषिको आधुनिकीकरण, पर्यटन विकास र विद्युत विकास भएको बताउनुभयो । देम्वाबाट सगरमाथा हेरेर रागादीपको सेप्ली झरना हेर्दै ओखलढुंगाको स्रष्टा पार्क हुँदै हलेसी जाने पर्यटकीय मार्ग बनाइने उहाँले बताउनुभयो ।
राष्ट्रपति लगायत, सांसद तथा नेताहरुलाई सहभागी गराई देम्वालाई पर्यटन रुटको रुपमा विकास गर्न अभियान थालिएको समितिका अध्यक्ष डेण्डी शेर्पा बताए । महोत्सवमा शेर्पा, सुनुवार, गुरुङ र तामाङ समुदायको जातीय झाँकी, सिंह नाच आदी प्रर्दशन गरिएको थियो । महोत्सवमा शेर्पा, सुनुवार, गुरुङ र तामाङ समुदायको जातीय झाँकी, सिंह नाच आदी प्रर्दशन गरिएको थियो । महोत्सवमा एक करोड बढीको कारोवार भएको अनुमान गरिएको छ । यो क्षेत्र सगरमाथा जाने वैकल्पिक पदमार्गको रुपमा परिचित भए पनि विकास नभएकाले चर्चामा थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार