सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोहण अनुमति

टुरिजमन्युज, ६ बैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार मंगलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका छन् । यो संख्या अहिलेसम्मकै बढी भएको विभागले जनाएको छ । गत वर्ष कुल ३४ समूहका २८९ जनाले आरोहणको अनुमति लिएका थिए ।
यस वर्ष अनुमति लिने क्रम चलिरहेको र बैशाख मध्यसम्म अनुमति लिन सकिने भएकाले संख्या अझै बढ्न सक्ने विभागले जनाएको छ । पर्यटन विभागबाट अनुमति लिएकामध्ये मंगलबारसम्ममा ३१ समूहका २९४ जना आरोही सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)को कार्यालय नाम्चेबाट अनुमति लिएर आधार शिविरतर्फ प्रस्थान गरिसकेका छन् ।
आरोहीहरु काठमाडौंबाट लुक्लासम्म हवाईजहाज र त्यहाँबाट नाम्चे पुगी एसपीसीसीको कार्यालयबाट अनुमति लिएर आधार शिविरतर्फ प्रस्थान गर्दछन् । केही आरोही दोलखाहुँदै पैदल तथा सोलुसल्लेरीसम्म सडकमार्ग भएर त्यहाँबाट आधार शिविरतर्फ जाने गर्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार