दर्शकको स्वाद नै मौलिकपन (घामपानी)

टुरिजमन्युज ।  नयाँ वर्षको शुरुवातसंगै प्रदर्शनमा आएको चलचित्र ‘घामपानी’ लाई दर्शकले रुचाएको छ । आशाको किरण बोकेका र धेरै अपक्षा गरिएका नेपाली फिल्महरुको खल्लो प्रस्तुतीबाट निराश बनिरहेका दर्शकलाई नयाँ बर्षको अवसरमा प्रदर्शित चलचित्र घामापनीले दर्शकलाई न्याय र नेपाली मौलिकपनको स्वाद चखाइरहेको छ । चलचित्रको कथा नै मौलिक भएकाले नेपाली दर्शकले चलचित्र रुचाएका छन् । हाम्रो समाजमा भइरहेका घटनालाई कथावस्तु बनाएर तिनै पात्र र परिवेशमा चलचित्रको विषय उठान यथार्थपरक देखिन्छ । अन्तरजातीय जोडीको सम्बन्ध र त्यसले परिवार र समाजमा पर्ने असर, अन्तरजातीय विवाह जस्ता विषय त पुरानै हो । यिनै बिषय समेटिएको घामपानीमा बिषय पुरानो भएपनि चलचित्रमा प्रस्तुति र प्रविधिको प्रयोगमा नयाँपन छ । तामाङ परिवार बसेको गाउँ र उनीहरुको जीवनशैलीलाई कलाकारमार्फत राम्रो चित्रण गरेका छन् चलचित्रका निर्देशक दिपेन्द्र लामाले । घामपानी सामाजिक संरचना चित्रण गर्ने एउटा माध्यम हो जसले दुई फरक समुदायको संस्कृति, मनस्थिति र अवस्था चित्रण गरेको छ । फिल्मले तामाङ र बाहुन परिवार मात्र होइन सिङ्गो गाउँ र परिस्थितिलाई पनि देखाएको छ । जसमा घटना जोडिन्छ प्रेम, परिवेश र विवाहमा ।
फूर्वा तामाङ (दयाहाङ राई) र तारा शर्मा (केकी अधिकारी) एउटै गाउँका तर फरक जातको युवकयुवती हुन् । यी दुई सँगै रहँदा बस्दा एकअर्कासँग नजिकिन्छन् र प्रेममा पर्छन् । तर फरक जातको भएकै कारण यी दुईको विवाह सम्भव हुँदैन । त्यसैले ताराको विवाह गाउँमा सरुवा भएका असई कमल अधिकारी (अंकित खड्का) सँग निधो हुन्छ । यहीँबाट फिल्मको द्वन्द्व सुरु हुन्छ । पात्रहरु मानसिक, सामाजिक र शारिरीक द्वन्द्वमा देखिन्छन् । कथामा सिर्जित द्वन्द्वले नै दर्शकलाई फिल्मको अन्त्यसम्म बाँधी राख्छ । मौलिक कथा र मौलिक प्रस्तुतिलाई नै फिल्मको मेरुदण्ड हो भन्दा फरक नपर्ला । प्रेम, संघर्ष, जातीय सहिष्णुता, गाउँले परिवेश, छिमेकी बीचको सम्बन्ध विभिन्न कोणबाट दर्शकको संवेदना फिल्मका पात्रहरुसँग जोडिन्छन्, यो चलचित्रको अर्को सुन्दर पक्ष हो ।

फिल्ममा प्रयोग संवादमा पनि दीपेन्द्र लामाले प्रोडक्सन अघि राम्रै मिहेनत गरेको भान हुन्छ । चलचित्रमा लेखन पनि दीपेन्द्रकै लामाकै रहेको छ । लेखन पेशाबाट निर्देशनमा डेब्यु गरेका उनको लेखनीय उपजमा लेखक हावी हुनु स्वभाविक पनि हो । समग्रमा समाज, युवा र परिवर्तन चलचित्रको केन्द्र हो दुई पढे लेखेका युवालाई अन्तरजातीय प्रेममा बाँधी दिएर संयोगान्त अन्त्य निर्देशकले गराएका छन् । फिल्मले जातीय, सांस्कृतिक, भावनात्मक र सामाजिक सहिष्णुता, सम्मान र सम्बन्धको कुरा गर्छ । घामपानीले केही कमजोरीसहितको फिल्ममा सशक्त परिवर्तनको संकेत दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार