शिरिष फाउन्डेशनले खेलाडीलाई छात्रबृत्ति प्रदान गर्ने

टुरिजमन्युज, ७ बैशाख । ओलम्पियन पौडी खेलाडी शीरिष गुरुङको अध्यक्षतामा स्थापना भएको शिरिष फाउन्डेसनले पहिलो चरणमा केही किशोर खेलाडीलाई दीर्घकालिन खेलकुद छात्रवृत्ति प्रदान गर्ने भएको छ । दर्ता प्रक्रिया पुरा भएपनि औपचारिक उद्घाटनमार्फत फाउन्डेसन स्थापनाको जानकारी दिने तयारी गरिरहेको फाउन्डेनसले छात्रवृतिका लागि प्रक्रिया भने थालिसकेको छ ।
फाउन्डेसनले आफ्ना योजनाबारे छलफल गरी सुझाव संकलन तथा खेलाडी छनोटको आह्वानका लागि विभिन्न १५ खेलका संघका अध्यक्ष तथा मुख्य प्रशिक्षकहरुसँग छुट्टाछुट्टै छलफल गरेको छ । छलफलमा एथलेटिक्स, आर्चरी, तेक्वान्दो, जुडो, टेबल टेनिस, ब्याडमिन्टन, कराते, उसु, साइक्लिङ, भारोत्तोलन, ट्रायथलन, सुटिङ, लन टेनिस, बक्सिङ र पौडीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । फाउन्डेसनले पहिलो पटक छनोट गरिएका खेलाडीको संख्या, नाम र थप विवरण फाउन्डेसन उद्घाटनका अवसरमा सार्वजनिक गर्ने फाउन्डेसनका सदस्य जगतमान श्रेष्ठले जानकारी दिनुभएका छ । नेपालमा संस्थागत रुपमा खेलिने ओलम्पिक खेलमध्ये १५ खेलका राष्ट्रिय संघ र मुख्य प्रशिक्षक तथा खेल विज्ञहरुले छानेका खेलाडीलाई यस्तो छात्रवृत्ति प्रदान गरिने फाउन्डेसनले जनाएको छ । छात्रवृत्तिका लागि १० देखि १४ वर्ष उमेरकालाई प्रथमिकता दिइने, असाधारण प्रतिभा भएमात्र छनोटका हकमा भने उमेर हद नलाग्ने फाउन्डेशनले जनाएको छ । छनोट गरिएका खेलाडीलाई नियमित रुपमा उच्चस्तरको प्रशिक्षण दिइनुका साथै बसोबास, यातायात, खेलसामाग्री, नियमित स्वास्थ्यउपचार र अध्ययनको प्रबन्ध फाउन्डेसनले मिलाउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार