मुस्ताङ होटल आन्तरिक पर्यटकले भरिभराउ

टुरिजमन्युज, ८ बैशाख । पर्यटकीय मौसम सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । चैत महिनाको पहिलो सातादेखि पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ हुन थालेका हुन् । अनुकूल मौसममा मुस्ताङमा पोखरा–जोमसोम हवाई मार्गबाट समेत पर्यटक भ्रमणमा पुग्ने गरेका छन् । फागुनदेखि असोज महिनासम्म मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम हो । माटोको सहर लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटका कारण मुस्ताङमा यो मौसममा हजारौँ आन्तरिक पर्यटक पुग्छन् पर्यटन याम सुरु भएसँगै मौसमले पनि साथ दिएका कारण एक महिनादेखि होटल भरिभराउ भइरहेको मुस्ताङका पर्यटन व्यवसायीहरुले बताएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जिल्लामा भित्रिने आन्तरिक पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि बाह्य पर्यटकभन्दा दोब्बर आउने गरेको जनाएको छ । खासगरी पछिल्लो तीन वर्षयता नेपाली बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास भएका कारण जिल्लाको पर्यटन क्षेत्र अहिले आन्तरिक पर्यटककै भरमा सञ्चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार