यस्तो छ दुई चरणको निर्वाचन तालिका

टुरिजमन्युज, १२ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दुई चरणको निर्वाचन कार्यतालिका ल्याएको छ । मधेसी मोर्चासंगको सहमतिपछि पहिलो चरणको घोषित निर्वाचन तालिकालाई आयोगले हेरफेर गरेको हो । सरकारले बैशाख ३१ मा एकै चरणमा देशभर स्थानीय तहको निर्वाचन गर्ने भनेपनि मोर्चासंगको सहमतिपछि बैशाख ३१ र जेठ ३१ गते दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
पत्रकार सम्मेलन गरी आयोगले दुई चरणको निर्वाचनका लागि निर्वाचन आयाग तयार रहेको जनाएको छ । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयलाई सकारात्मक रूपमा लिइएको बताउनुभभयो । ‘निर्वाचनका लागि राजनीतिक वातावरण सहज बन्दै गएको अवस्थालाई मतदाता, राजनीतिक दल, नागरिक समाज सबैले सकारात्मक रूपमा ग्रहण गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘सबै तयारी अन्तिम चरणमा पुर्याएको समयमा दुई चरणमा जाँदा आयोगका अगाडि चुनौतीहरू थपिएका छन् । त्यसको व्यवस्थापनमा पनि आफुहरु जुटेको र आयोगले पहिलो चरणका लागि बैशाख १९ र दोस्रो चरणका लागि जेठ १९ गते उम्मेदवार मनोनयनको मिति तोकेको बताउनुभयो । बैशाख ३१ को निर्वाचनका लागि यसअघि मनोनयन दर्ताको समय बैशाख १६ गते थियो । मोर्चाको मागअनुसार सरकारले आयोगलाई उक्त अवधि बढाउन आग्रह गरेको हो ।
प्रमुख आयुक्त यादवका अनुसार पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ तथा दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन हुनेछ । बैशाख ३१ मा ३४ जिल्लामा र बाँकी जिल्लामा जेठ ३१ मा निर्वाचन हुने र पहिलो चरणका लागि नियुक्ति पाएका मुख्य निर्वाचन अधिकृत र मतदाता शिक्षा कार्यकर्ताले आफ्नो काम सुचारु राख्ने जानकारी प्रमुख आयुक्तले दिनुभयो । दोस्रो चरणमा ४१ जिल्लाका ११ हजार २ सय ६१ मतदान केन्द्रमा निर्वाचन हुनेछ । देशभर कुल १८ हजार ५ सय ७२ मतदान केन्द्र तोकिएका छन् । यादवले मतदाता नामावली पुन संकलन वा अर्को मतपत्र नछापिने स्पष्ट पार्नुहुँदैं निर्वाचन दुई चरणमा भए पनि मतदाता नामावली, मतपत्र र मतदाता परिचयपत्र अहिले छापिएकै प्रयोग हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘छापिएका मतपत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।’
पहिलो चरणको निर्वाचन सकिएलगत्तै ती स्थानहरूको मतगणना गरिनेसमेत आयोगले जनाएको छ । यादवले मतदान सकिएपछि सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरेर मतगणना थालिने प्रमुख आयुक्तले बताउनुभयो । उहाँले मतदाता शिक्षित र बुद्धिजीवी भएकाले पहिलो चरणको मतगणनाले दोस्रो चरणको निर्वाचनमा प्रभाव नपार्ने भन्दै असल अभ्यास गर्ने पक्षमा आयोग रहेको उल्लेख गर्नुभयो । मोर्चासँगको सहमतिपछि सरकारले ७ सय ४४ स्थानीय तहको संख्यालाई बढाउन गरेको गृहकार्यलाई आयोगले सहज रूपमा लिएको पनि प्रमुख आयुक्त यादवले बतानुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार