आँपका नाममा बन्द विस व्यापार


रसायन हालेर पकाइएको आँप यतिबेला बजारमा बिक्री वितरण भइरहेको छ । मौसम अगावै वा बेमौसमी सिजनमा बजारमा भेटिने अधिकांश फलफूलमा विषादीको प्रयोग हुने गरेको पाइएको छ । आँपका माध्यमबाट उपभोक्ताले मन्द विष सेवन गरिरहेको अधिकारकर्मीहरूको भनाइ छ । तराई–मधेस क्षेत्रमा असारको तेस्रो सातादेखि पाक्ने आँप वैशाखको पहिलो सातामै विषादी प्रयोग गरेर पकाउँदै बिक्री वितरण भइरहेको छ । खासगरी आँप पाक्ने समय असारको अन्तिमदेखि भदौसम्मको भए पनि स्थानीय बजारमा भने वैशाखको सुरुदेखि नै आँपले कब्जा जमाएको देखिन्छ । यसले गर्दा खाद्य बजार विषालु बन्दै गएको छ भने उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् ।
विषालु रसायनयुक्त आँप प्रति धेरैले ध्यान नदिँदा हानिकारक मन्द विष हालेर बिना रोकटोक बजारमा बिक्री भइरहेको जनकपुर अञ्चल अस्पतालका डा. रामजी यादवले बताउनुभयो । बेमौसमी फलफूलमा हानिकारक रसायन हुने भएकाले त्यस्ता फलफूल खाँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने डा. यादवको बुझाइ छ ।
व्यापारीले कार्बाइड नामक रसायन काँचो आँपमा राख्दा चौबीस घन्टामै पाक्छ र व्यापारीले बढी आर्थिक लाभ लिने कारणले रसायन हाली बिक्री गर्ने गरेका छन् । उपभोक्ताले ध्यान नदिँदा स्वस्थकर अमृतसरह आँप हानिकारक रसायनको प्रयोगले दिनदिँदै विष बन्दै गएको बुद्धिजीवीको भनाइ छ ।
आँप पकाउन प्रयोग हुने क्याल्सियम कार्बाइड नामको रसायनले मुटुरोग निम्त्याउन सक्ने तथा कलेजो र मस्तिष्कमा समेत असर गर्ने जनरल फिजिसियन डा. शैलेन्द्र गोइतले बताउनुभयो । घरमा राखेको २÷३ दिनपछि फलफूलको बोक्रामा कालो धब्बा देखिए रसायनद्वारा पकाइएको फल ठहर्ने जनकपुर जिरोमाईलका अर्का आँप व्यवसायी रुदल साहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार