मिल्के जलजले पर्यटकले भरिभराउ

आन्तरिक तथा बाह्य पर्यटकले यतिबेला तीनजुरे मिल्के जलजले क्षेत्र भरिभराउ भएको छ । वसन्तपुरको पदमार्ग भएर कञ्चनजंघा, मकालु र कुम्भकर्ण हिमालको आधार शिविरतर्फ जाने पर्यटकको संख्या वृद्धि भएपछि यस क्षेत्रमा चहलपहल बढेको हो । यस क्षेत्रमा गुराँस फुल्ने मौसम सुरु भएसंगै पर्यटकको चाप बढेको राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिका संयोजक लक्ष्मण तिवारीले बताउनुभयो । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने भएकाले वैशाख लागेपछि पर्यटकको आउजाउ बढ्ने गरेको संयोजक तिवारीले बताउनुभयो । हाल वसन्तपुर र तीनजुरेको काख आरआर गार्डेनमा मात्र दैनिक १ हजारको हाराहारीमा आन्तरिक पर्यटक आइरहेका पर्यटन विकास तथा प्रवद्र्धन समितिका सदस्य प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
यस क्षेत्रमा पछिल्लो समय पर्यटकीय पूर्वाधारसमेत निर्माण भइरहेकाले पर्यटकको संख्या बढिरहेको पर्यटन कार्यालय काँकडभिट्टाले जनाएको छ । कार्यालयले चालु आवमा तीनजुरे डाँडामा करिब २ करोड रुपैयाँको लागतमा पूर्वाञ्चलकै ठूलो सुविधा सम्पन्न भ्यु टावर निर्माण थालेको छ । कोसी पहाडको पर्यटन व्यवसाय फस्टाउँदै गएकाले लगानी बढाइएको ब्लाक वाटर रिसोर्टका सञ्चालक धर्मराज खडकाले बताउनुभयो । ‘यस क्षेत्रमा पर्यटन व्यवसायले गति लिँदै गएको छ,’ खड्काले भन्नुभयो । भविष्यमा यो क्षेत्र १ नम्बर प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बन्ने सोचेर धरानको बसोवास छोडेर रिसोर्टमा लगानी गरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार