पर्यटन, पूर्वाधार र उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका आधार’ अर्थमन्त्री महरा

उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको जानकारी दिँदै कृषि, पर्यटन, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन र उत्पादन क्षेत्रलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको बताउनुभएको छ । एसियाली विकास बैक (एडिबी) सञ्चालक समितिको ५०औं बैठकलाई सम्बोधन गर्दै उहाँले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ६.९ प्रतिशत पुग्ने प्रक्षेपण सुनाउनुभयो । भूकम्पपछिको पुनःनिर्माणले गति लिएको र त्यससम्बन्धी सबै काम समयमा नै पूरा हुने जानकारी दिँदै मन्त्री महराले नेपालको सामाजिक एवम् आर्थिक विकासमा एडिबीबाट निरन्तर प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो । एसिया–प्रशान्त क्षेत्रको दु्रत आर्थिक विकासका लागि एडिबीले थप सहायता गर्नुपर्नेमा जोड दिँदै उहाँले दिगो समावेशी आर्थिक विकासमा एडिबीले निर्वाह गरेको भूमिका प्रभावकारी रहेको बताउनुभयो ।
एसिया– प्रशान्त क्षेत्रका विकासका आवश्यकता पूरा गर्न लगानी बढाउनुपर्ने, निजी क्षेत्रलाई पनि साथै लिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले यस क्षेत्रका शान्ति र समृद्धिका लागि सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो ।
बैंकको दीर्घकालीन रणनीतिमा क्षमता अभिवृद्धि, संस्थागत विकास, जलवायु परिवर्तनका असरहरुको सामना गर्ने सुदृढ संयन्त्र स्थापना जस्ता विषय समावेश हुनु अपरिहार्य भएको भन्दै उहाँले ती क्षेत्रमा पनि एडिबीको लगानी विस्तार गरिनुपर्ने नेपालको चाहना रहेको कुरा व्यक्त गर्नुभयो ।

बैंकको ६७ सदस्य देशका सरकारी अधिकारी, निजी क्षेत्र, सञ्चारकर्मी, नागरिक समाज, विश्वका विभिन्न देशका अर्थशास्त्री, बहुपक्षीय अन्तराष्ट्रिय संघसंस्थाहरुका प्रतिनिधिको सहभागितामा रहेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापानका युवराज नारुहितोले समृद्ध एसिया निर्माणमा सबै एसियालीले सामुहिक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
जापानका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री तारो आसोले एसिया–प्रशान्त क्षेत्रको आर्थिक विकास, यस क्षेत्रका आर्थिक उन्नतिका चुनौती, पूर्वाधार विकासमा लगानी वृद्धि, प्राकृति विपत्ति व्यवस्थापनलगायत सुदृढ अर्थतन्त्रका निम्ति बैंकले अझ सचेततापूर्वक काम गर्नुपर्ने बताउनुभयो ।
दिगो आर्थिक विकास हासिल गर्न पूर्वाधार निर्माण अपरिहार्य भएको बताउँदै उहाँले विकासका परियोजनामा अत्याधुनिक प्रविधि प्रयोग गर्न जापानले एडिबीलाई चार करोड अमेरिकी डलर प्रदान गर्ने घोषणा गर्नुभयो । उच्चस्तरीय प्रविधि कोष स्थापनाका लागि बैंकलाई जापानले उक्त रकम प्रदान गर्ने उहाँले जानकारी दिनुभयो ।
उक्त रकम आगामी दुई बर्षभित्र एडिबीलाई उपलब्ध गराइने जानकारी दिँदै बैंक सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री आसोले हाल बैंकको ‘रणनीति २०३०’ तयार भइरहेको जानकारी दिनुभयो । एसिया–प्रशान्त क्षेत्रको विकासका लागि बैंकसँग निकट सम्पर्कमा रहेर जापानले काम गरिरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार