बार्सिलोना र रियलको जित

एजेन्सी÷ बार्सिलोना र रियल मड्रिड दुबैले शानदार जित हात पारेका छन् । स्पेनिस ला लिगाको उपाधि होड निकै रोमाञ्चक भएको छ । गएराती भएको खेलमा लियोनल मेस्सीको दुई गोलको मद्दतमा बार्सिलोनाले भिल्लारियललाई ४–१ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २१ औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो । तर, ३२ औं मिनेटमा भिल्लारियलले बराबरी गोल फर्कायो । पहिलो हाफको अन्तिम मिनेटमा मेस्सीले अग्रता दोब्बर पारे । यो उनको सिजनको ५० औं गोल समेत हो । खेलको ६९ औं मिनेटमा लुइस स्वरेजले गोल गरे भने ८२ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गरेपछि बार्सिलोना ४–१ गोल अन्तरले विजयी भएको छ । जितपछि बार्सिलोनाको ३६ खेलबाट ८४ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको पनि ८४ अंक नै छ ।
अर्को खेलमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो विना मैदान उत्रिएको रियल मड्रिडले ग्रानाडामाथि ४–० गोल अन्तरको जित निकालेको छ । तेस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाएका जेम्स रोड्रिग्वेजले ११ औं मिनेटमा नै अग्रता दोब्बर पारे । ३० औं मिनेटमा मोराटाले गोल गरे । पाँच मिनेटपछि नै उनले नै गोल गरे र, पहिलो हाफमा रियल मड्रिडले ४–० को अग्रता लियो । खेलको दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन र रियल मड्रिड विजयी भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार