शीरिष फाउन्डेशनको औपचारिक उद्घाटन


काठमाडौं  । प्रतिभावान युवा खेलाडीलाई ‘खेलकुद छात्रवृत्ति’ प्रदान गर्ने उदेश्यले ओलम्पियन तथा किर्तिमानी पौडीबाज शिरीष गुरुङले आफ्नो नाममा स्थापना गरेको शीरिष फाउन्डेसनको औपचारिक उद्घाटन गरिएको छ । १२ औं सागकी स्वर्णधारी उसुकी निमालाई पहिलो छात्रवृत्ति प्रदान गदै फाउन्डेसनले कार्य प्रारम्भ गरेको हो
फाउन्डेसनले ओलम्पिकमा समावेश विभिन्न १५ खेलका प्रतिभावान खेलाडीलाई छात्रवृत्ति प्रदान गर्नेछ । जसअनुसार एथलेटिक्स, आर्चरी, तेक्वान्दो, जुडो, टेबल टेनिस, ब्याडमिन्टन, कराते, उसु, साइक्लिङ, भारोत्तोलन, ट्रायथलन, सुटिङ, लन टेनिस, बक्सिङ र पौडी खेलका खेलाडीले यो छात्रवृत्ति पाउने छन् ।
फाउन्डेसनले १० देखि १४ वर्ष उमेरसमूहका खेलाडीलाई राष्ट्रिय संघ अध्यक्ष र मुख्य प्रशिक्षकसँग छलफल गरेर छात्रवृत्ति प्रदान गर्नेछ  । त्यसबाहेक कुनैपनि खेलाडीको अद्भुत क्षमता भए बढी उमेरका खेलाडीलाई समेत फाउन्डेसनले छात्रवृत्ति उपलब्ध गराउने छ  । यस्तै खेलाडी छान्दा उसको परिवारको समेत अध्ययन गरेर शारीरिक रूपमा कति विकास हुन सक्छ भन्नेसमेत अनुमान गरिने फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले छात्रवृत्ति पाउने खेलाडीको सुविधाका लागि  बिभिन्न खेलका दक्ष प्रशिक्षक लगायत टेक्निकल टोलीहरु राखेको छ ।
छात्रवृत्ति पाएका खेलाडीलाई फाउन्डेसनले नियमित प्रशिक्षण, पोषणयुक्त खानपान, मानसिक रूपमा अब्बल बनाउन अध्ययन, सुविधायुक्त अभ्यास, यातायात, बसोबास, नियमित स्वास्थ्य परीक्षण लगायतका सबै सुविधा उपलब्ध गराउने छ ।
ओलम्पियन शिरिषले रियो ओलम्पिक खेल्न जाँदा पाएको रकम र विभिन्न सहयोगी सस्थाहरुको सहयोगमा फाउन्डेसन खोल्नु भएको हो ।
फाउन्डेसनको औपचारिक उद्घाटन राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा सिटिजन बैंकका सीईओ राजन सिंह आचार्य, फाउन्डेसनका सल्लाहकार तथा रन्जीत आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ट उपाध्यक्ष शेखर गोल्छा,  फाउन्डेसनका सदस्य जतगमान श्रेष्ठ, विभिन्न खेलका प्रशिक्षक, खेलाडी लगायतका उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार