भकिम्लीबासीले विकास निर्माणमा जुटाए करौडौं रकम

भकिम्लीबासीले स्थानीय स्तरमा विकास निर्माणका लागि करौडौं रकम जुटाए छन् । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका बासिन्दाले स्थानीय स्तरबाट करोडाँै रकम जुटाएर पूर्वाधार निर्माण गरेका हुन् । सरकारी निकायले उपलब्ध गराउँदै आएको बजेटको तुलनामा कैयौं गुणा बढी रकम जुटाएर सडक, भवन, खेलमैदान लगायतका भौतिक पुर्वाधार निर्माण गरेका हुन् । जिल्ला समन्वय समिति र साविकको गाविस कार्यालयले १६ लाख ४३ हजार अनुदान उपलब्ध गराएको भकिम्ली–राखु–नयाँपुल सडक निर्माण योजना स्थानीयले ३५ लाख रुपैंयाँ जुटाएर काम सम्पन्न गरेका छन् । सडक निर्माणका लागि सरकारी निकायबाट प्राप्त बजेट अपुग भएपछि राखुका ६५ घरधुरीले चन्दा सङ्कलन गर्नुका साथै बैंकमा गहना धितो राखेर समेत ३५ लाख जुटाएको उपभोक्ता समितिका अध्यक्ष केयरसिङ पुनले जानकारी दिनुभयो ।
रोजगारी, अध्ययन र व्यवसायका लागि विदेशिएका भकिम्लीका स्थानीयको सहयोगमा जयन्ती माविमा दश कोठे भवन निर्माण कार्य भइरहेको छ । भवन निर्माणका लागि बेलायत, बेल्जियम, अमेरिकालगायत देशमा रहेका नेपालीबाट ८१ लाख रुपैंयाँ सहयोग प्राप्त भएको व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले जानकारी दिनुभयो ।

२०७२ को भूकम्पले भत्काएको कक्षा कोठा भवन पुनःनिर्माणका लागि साविक गाविस कार्यालयले दश लाख रुपैंयाँ उपलब्ध गराएको थियो । यसैगरी भकिम्लीको मुसुङडोलेमा स्थानीय गणेश स्मृति क्लबको सक्रियतामा ११ लाख रुपैंयाँको लगानीमा खेलमैदान निर्माण भएको छ । यसैगरी मुसुङडोलेको पखरधारो खेलमैदान निर्माणका लागि सरकारी रकम अपुग हुनेभएपछि स्थानीयले थप दुई लाख चन्दा संकलन गरी खेलमैदान निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर थापाले बताउनुभयो । स्थानीयको सक्रियतामा भौतिक निर्माण कार्य सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार