स्थानीय चुनावमा उम्मेदवारको एजेन्डाः पर्यटन, कृषि र पूर्वाधार विकासमा जोड


झन्डै दुइ दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा विभिन्न पार्टीका उम्मेदवारहरुले पर्यटनलाई मुख्य एजेन्डा बनाएका छन् । नगरपालिका देखि गाउँपालिकासम्म पर्यटन, कृषि र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाएर उम्मेदवारहरु जनताको घरघरमा यतिबेला घरदैलो कार्यक्रम लिएर पुगिरहेका छन्  ।
पर्यटनमा समानुपातिक सहभागिताको योजना, पर्यटन गन्तब्यमा विविधिकरण, सिमसार संरक्षण, आठवटै ताललाई जोड्ने साईकल सडक निर्माण लगायत आफ्नो एजेन्डा रहेको कास्की लेखनाथ महानगरपालिकाका नेपाली कांग्रेसको तर्फबाट उमपेयरका उम्मेदवार सरस्वती गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो ‘आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्नबाट बञ्चित हुन नपरोस् । कोहि पैसा नभएकै कारण उपचार गर्न नसकेर मर्न नपरोस । गरिबको लागि निशुल्क शिक्षा र स्वास्थ्य स्मार्ट सिटीभित्रको मेरो प्राथमिकता हुनेछ ।’

त्यसो त मकवानपुरका थाहा नगरपालिकाका एमालेका तर्फबाट मेयरका उम्मेदवार विष्णु ढकालले देशको प्रमुख व्यापारिक नाका बीरगञ्जबाट तीन घण्टाको दूरीमा स्थित दामनलाई व्यस्त पर्यटकीय क्षेत्र बनाउने योजना रहेको बताउनुभयो । उहाँले कृषि प्रणालीलाई आधुनिकीकरण गरी पूर्वाधार विकासमा जोड दिने आफ्नो एजेण्डा रहेको उल्लेख गर्नुभयो ।
चितवन भरतपुर महानगर प्रमुखमा एमालेबाट उम्मेद्वारी दिनुभएकी देवी ज्ञवालीले नगर र नगरबासीको समृद्धिका लागि पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक निर्माणमा बढी जोड दिने बताउनुभयो ।


चितवन भरतपुर महानगरका मेयरका उम्मेदवार (माओवादी) रेणु दाहालले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योग क्षेत्रमा भौतिक संरचनाको विकासका साथै जलश्रोतको उपयोग, सडक संजालको विस्तार र खानेपानीको व्यवस्था दाहालको मुख्य एजेन्डा रहेको बताउनुभयो ।
यस्तै अन्य राजनीतिक दलका तर्फबाट उम्मेदवारहरुले पनि पर्यटन, कृषि र पूर्वाधार विकासलाई स्थानीय तहको चुनावमा आफ्नो एजेण्डामा राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार