पतिको उपचार खर्च जुटाउन टेम्पो चलाउँदै शान्ता

काँकडभिट्टा÷आर्थिक अवस्था कमजोर भएका कारण श्रीमानको उपचार खर्च जुटाउन २६ बर्षिय श्रीमती शान्ता राई टेम्पो चलाउँदै हुनुहुन्छ । दुवै मिर्गौला खराब भएर विगत एक वर्षदेखि डायलासिस गराउँदैं आउनु भएका श्रीमान भूपिन राईको उपचार खर्च जुटाउन श्रीमती राईले टेम्पो चलाउने निर्णय गरेको बताउनुभयो । ‘सधैँभरि चन्दा मागेर मात्र साध्य भएन त्यसैले उपचार खर्च जुटाउन टेम्पो चलाउने निर्णय गरे ’ राईले भन्नुभयो । अर्जुनधारा–७ की २६ वर्षिया राई अहिले टेम्पो चलाउदैं हुनुहुन्छ ।

शान्ताले बिहानै उठेर परिवारका सबैलाई खाना पकाएरमात्र  टेम्पो लिएर बजारतिर आउने गर्नुहुन्छ । बिरामी भूपिनले छोराछोरीलाई भात खुवाएर स्कुल पठाउने गर्नुहुन्छ । भूपिन अरु काम गर्न नसक्ने हुँदा बेलुका शान्ता छिट्टै घर फर्किनुहुन्छ । उनीहरुको १० वर्षकी एक छोरी सगुन कक्षा ४ मा पढ्छिन् भने छ वर्षका छोरा तान्छोप्पा एलकेजीमा पढ्छन् ।

आर्थिक अवस्था ज्यादै नाजुक भएकाले सहयोगीहरुबाट आर्थिक सहयोग जुटाएर उपचार भइरहेको छ । सातामा तीनपटक डायलासिस गर्नुपर्ने अवस्था भएका भूपिनलाई उपचारका लागि सहयोग जुटाउन स्थानीयवासीले चतुर्भुज काफ्लेको संयोजकत्वमा ‘भूपिन राई बचाऊ अभियान’ गठन गरेका थिए । सोही अभियानबाट संकलित रकमले टिभिएस कम्पनीको टेम्पो आइतबार खरिद गरिएको हो ।

सहयोग जुटाउन गठित अभियानले  विगत छ महिनामा १६ लाख रुपैैंयाँ संकलन गरेको थियो । काठमाडौँ, धरान र बिर्तामोडमा उपचार गराउँदा खर्च भएर अब सो अभियानको नाममा बैंकमा रु ११ लाखमात्र बाँकी रहेको संयोजक काफ्ले जानकारी दिनुभयो ।

मिर्गौला प्रत्यारोपण हुन नसक्ने अवस्था भएकाले समितिले हाल उठेको सहयोग रकम परिवारका सदस्यलाई हस्तान्तरण गर्न चाहेपनि परिवारको सल्लाहमा दिगो आर्थिक स्रोतको पहिचान गर्ने क्रममा त्यही रकमबाट टेम्पो किनिएको हो । टेम्पो कुदाएर दैनिक एक हजारदेखि पन्ध्र सय रुपैंयाँसम्म आम्दानी हुने शान्ताको अनुमान  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार