देशभर विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाईदैं


काठमाडा÷ वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदैं छ । बुद्ध जयन्ती भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइने गरिन्छ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्माण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मवालम्बीहरुले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्दछ ।
आजभन्दा २५६१ वर्षअघि नेपालको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाको दिन भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभएको थियो ।
छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुभएपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गर्नुभएको बौद्ध दर्शनको खोज–अनुसन्धानमा लाग्नुभएका बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताउनुभयो ।
“सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभयो, जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो”–उहाँले भन्नुभयो ।
बौद्ध दर्शनका प्राध्यापक शान्तरत्न बज्राचार्य भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेको उल्लेख गर्नुहुन्छ । जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गर्नुभएको उहाँको भनाइ छ ।
हिन्दू दर्शनले बुद्धलाई विष्णु भगवानको नवौं अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमाका दिन हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । काठमाडौँको बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्ध लगायत स्थानमा बुद्धको मूर्तिसहित शोभा यात्रा र शान्ति ¥याली निकालिन्छ । बुद्ध जयन्तीको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार