राजनीतिक दलद्वारा टोखालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता

काठमाडौं महानगरपालिकासँग जोडिएको टोखा नगरपालिका पनि यसपटकको स्थानीय निर्वाचनपछि काँचुली फेर्ने पर्खाइमा रहेको छ ।
झोर महांकाल, टोखाचण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोंगबु पाँच गाविस जोडिएर २०७१ सालमा टोखा नगरपालिका घोषणा गरिए पनि बैशाख ३१ मा हुने निर्वाचनबाट काँचुली फेर्ने पर्खाइमा रहेको छ ।
पूर्व बूढानीलकण्ठ, पश्चिम तारकेश्वर, उत्तरमा नुवाकोट र दक्षिणमा काठमाडौं महानगरसँग जोडिएको यस टोखालाई अब निर्वाचित हुने जनप्रतिनिधिको काँधमा समृद्ध सुविधासम्पन्न सहर (स्मार्ट सिटी) बनाउने पहिलो योजना रहने छ ।
यहाँका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवारले टोखालाई स्मार्ट सिटीको रुपमा विकास गदै ऐतिहासिक पर्यटकीय धरोहरको रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
टोखामा धेरै पर्यटकीय क्षेत्र भएकाले तिनलाई संरक्षण गरी टोखा नगरीलाई पर्यटकीय स्थल बनाउने उहाँहरुको योजना रहेको छ । नेपाली काँग्रेसबाट प्रमुख पदको उम्मेदवार भएका हरिहर अधिकारीले टोखा आफैंमा पर्यटकीय क्षेत्र भएको यहाँका धार्मिक स्थल, पर्यटकीय स्थल र ताल तथा पोखरीलाई संरक्षण गरी पर्यटकीय क्षेत्र बनाउने बताउनुभयो । “यहाँका धेरै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् ।”
नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रकाश अधिकारीले समृद्ध टोखासँगै यहाँका पर्यटकीय क्षेत्रको विकासमा पनि आफू लाग्ने बताउनुभयो । अधिकारीले यस क्षेत्रको ओझेलमा परेका प्राकृतिक सम्पदा र पर्यटकीय क्षेत्रको संरक्षण गर्दै टोखामा बाहिरबाट पर्यटन भित्र्याउन सकिने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रतर्फबाट उम्मेदवार बन्नुभएका प्रमुखका उम्मेदवार कल्पना शर्माले पनि टोखालाई सुन्दर नगरीको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गोंगबु क्षेत्रका भूकम्प पीडितलाई सहयोग गर्ने पनि आफ्नो मुख्य योजना रहेको उल्लेख गर्नुका साथै खानेपानी सडक विस्तारलाई पनि ध्यान दिने बताउनुभयो ।
अट्ठाइस हजार एक सय चौरत्रर मतदाता रहेको यस नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ५७ जना निर्वाचित हुनेछन् । ११ वडा रहेको यस नगरपालिका प्रमुखमा १४, उपप्रमुखमा नौ जनासहित २६१ जनाले उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराउनुभयो । उहाँका अनुसार वडा नं २ र ६ मा दलित महिला सदस्यमा नेपाली काँग्रेसबाट प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भएपछि ५५ जनाले आइतबार हुने निर्वाचनमा बाजी मार्नेछन् । टोखाभित्र सरस्वती गहना पोखरी, गणेश पोखरी, सपनतीर्थ जस्ता ताल र पोखरीसमेत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार