नेपालको पर्यटन प्रवद्र्धनबारे बनारसमा छलफल

नेपालको पर्यटन क्षेत्रमा लगानी आकर्षित गर्न र नेपालको पर्यटन प्रवद्र्धन गर्ने विषयमा भारतको बनारसमा छलफल भएको छ । कार्यक्रममा भारतस्थित नेपाली दूतावासका उपप्रमुख कृष्णप्रसाद ढकालले काठमाडौं र बनारसबीच ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्बन्धलाई थप परिस्कृत बनाउन नेपाल भ्रमणका लागि व्यवसायीहरुलाई अनुरोध गर्नुभयो ।
२०७२ सालको भूकम्पपश्चात टुटेको बनारस–नेपाल सिधा हवाइ सेवा पुन संचालन गर्ने विषयमा दुवै मुलुकका जिम्मेवार निकायले तत्काल पहल गर्ने बताए । बनारस र काठमाडौंको धार्मिक पर्यटनलाई एकआपसमा जोड्ने दुई शहरबीच भारतबाट एयर इन्डिया र नेपालबाट बुद्ध एयरले काठमाडौं–बनारस सिधा उडान गर्दै आएको थियो । तर भूकम्प पछि टुटेको दुई शहरबीचको कनेक्टिभिटी दुई वर्ष वितिसक्दा पनि प्रभावकारी हुन सकेको छैन । बुद्ध एयरले भने यहि मे २७ बाट पुन सेवा आरम्भ गर्न लागेको छ । कार्यक्रममा वाराणसी डिभिजन कमिस्नर नितिनरमेश गोकर्णले नेपाल र वाराणसीबीच धार्मिक पर्यटकीय व्यापार व्यवसायको प्रसस्त संभावना रहेको र हवाई उडानलाई पुनः संचालनमा ल्याउन पहल गर्ने बताउनुभयो । नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आउने गर्दछ । त्यसमा पनि धार्मिक पर्यटकको संख्या उल्लेख्य रहेको छ ।
भारत स्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा बनारसका पर्यटन व्यवसायी, टुर अपरेटर्स, स्थानीय चेम्बर्सका प्रतिनिधि, होटल व्यवसायी लगायतको सहभागीता थियो । सहभागीले व्यापार, व्यवसाय तथा पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी आर्थिक कुटनीतिको खाँचो औंल्याएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार