वैशाख ३१ को निर्वाचनका दिन पर्यटकीय सवारीसाधनलाई पास वितरण


काठमाडौं÷ वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका दिन पर्यटकहरुको आवतजावतलाई सजिलो बनाउन नेपाल पर्यटन बोर्डले हरियो प्लेटका सवारीसाधनलाई पास वितरण गरेको छ । निर्वाचन आयोगले वितरण गरेको पास बाहेकका सवारी बन्द हुने हुँदा विदेशी पर्यटकलाई असहज नहोस भन्ने उद्देश्यले उक्त पास वितरण गरिएको हो ।
पर्यटन बोर्डले विदेशबाट आउने र नेपालबाट फर्कने पर्यटकलाई विमानस्थलदेखि होटेल र होटेलदेखि विमानस्थलसम्म पु¥याउन होटेल तथा ट्राभल कम्पनीका सवारीलाई सिफारिसपत्र वितरण गरेको हो । सोही सिफारिसका आधारमा ती कम्पनीले जिल्ला प्रशासन कार्यालयबाट सवारीसाधन सञ्चालन अनुमति पास प्राप्त गर्ने बताइएको छ । ३१ गते नेपाल आउने र यहाँबाट फर्कने पर्यटकले सास्ती भोग्नु नपर्ने गरी पासको व्यवस्था मिलाएको नेपाल पर्यटन बोर्डका सञ्चार प्रमुख शरद प्रधानले बताउनुभयो । प्रधानका अनुसार निर्वाचनका दिन आईतबार काठमाडौं उपत्यकाभित्र र आसपासका क्षेत्रमा साइटसिइङका प्याकेजहरू भने सञ्चालन हुने छैनन् ।
निर्वाचनका दिन नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)बाट ट्रेकर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) कार्डको वितरण पनि बन्द हुने भएको छ । टानले उक्त दिन काठमाडौंको मालीगाउँ, ठमेल तथा पोखराका टिम्स काउन्टर बन्द रहने जानकारी दिएको छ । सोही कारण अहिले नै आवश्यक टिम्स कार्डको जोहो गर्न टानले आग्रह गरेको छ ।
यसैगरि, पर्यटन बोर्डको पोखरास्थित कार्यालयले पोखराका होटेल तथा ट्राभल व्यवसायीलाई ३१ वैशाखलाई लक्षित गरी पासका लागि सिफारिसपत्र वितरण गरिरहेको छ । पोखरामा पनि विमानस्थलदेखि होटेल र होटेलदेखि विमानस्थलसम्म मात्र सवारीसाधन चलाउन पाउने गरी पासको व्यवस्था हुने पर्यटन बोर्डले जानकारी दिएको छ । नेपाल पर्यटन बोर्डले सवारीसाधन नचल्ने गरी हुने बन्द, हडताल तथा अन्य अवरोधका वेला पनि पर्यटक सवारीका लागि विशेष व्यवस्था गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार