स्थानीय चुनावमा खटिने कर्मचारीको भक्तामा चार अर्ब खर्च हुँदैं


स्थानीय तहको पहिलो चरणको निर्वाचनमा खटिएका तथा दोस्रो तहको निर्वाचनमा खटिने कर्मचारीको भत्तामा निर्वाचन आयोगले करिब ४ अर्ब रुपैयाँ खर्च गर्दैछ ।

आयोगले पहिलो चरणको निर्वाचनका लागि ६ हजार ६ सय ४२ वटा मतदान केन्द्रमा करिब ४७ हजार कर्मचारी खटाइसकेको छ । आयोगले ती कर्मचारीलाई दैनिक भत्ता तथा भ्रमण खर्च दिएर परिचालन गरेको हो ।
आयोगका अनुसार खरिदार तहका कर्मचारीलाई १ हजार ३ सय, सुब्बा तहका कर्मचारीलाई १ हजार ६ सय र अधिकृत तहका कर्मचारीलाई २ हजार रुपैयाँ दैनिक भत्ता दिएको छ । भ्रमण खर्च भने ठाउँ अनुसार फरक फरक रहेको छ ।
यस्तै मतदान केन्द्र रहेको भौगोलिक क्षेत्र अनुसार कर्मचारीलाई ८ देखि २० दिनसम्मको दैनिक भत्ता दिइएको छ । पहिलो चरणमा परिचालन भएका कर्मचारीलाई आयोगले दुई दिन तालिम दिंदा पनि भत्ता दिएको थियो ।
पहिलो चरणमा परिचालन भएका र दोस्रो चरणमा परिचालन हुने कर्मचारीको भत्तामा ३ अर्ब ९६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो । अर्थ मन्त्रालयले निर्वाचन सम्पन्न गर्नका लागि आयोगलाई १० अर्ब २९ करोड ६३ लाख रुपैयाँ निकासा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार