पहिलो चरणको निर्वाचन वीरताले सफल, दोस्रो त्यत्ति नै गम्भीरः प्रधानमन्त्री दाहाल


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धेरै अप्ठ्यारासँग सामना गरेर ठूलो वीरता प्रदर्शनपछि मात्रै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको बताउनुभएको छ ।
उहाँले धेरै ठूलो मिहिनेतपछि र लामो समयको अन्तरालपछि नयाँ सन्दर्भमा स्थानीय तहको पहिलो चरणकोे निर्वाचन सम्पन्न भएको बताउनुभयो । दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने दायित्व पनि त्यति नै गम्भीर भएको बताउँदै उहाँले भन्नुभयो ‘अझ भन्ने हो भने पहिलोभन्दा अझ बढी गम्भीर जिम्मेवारी दोस्रो चरणमा छ ।’
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै उहाँले दोस्रो चरणको निर्वाचन सम्पन्न पछि परिवर्तन संस्थागत मात्रै नभएर जनताको सहभागितामा सोंचेभन्दा राम्रो विकास हुने बताउनुभयो । निर्वाचन सफलतापूर्वक सम्पन्न गर्दा आफ्नो जिम्मेवारी पूरा भएको महसुस भएको उहाँले बताउनुभयो । ‘नेपाली कांग्रेसले जिते पनि मैले जितेको जस्तो हुने, एमालेले जिते पनि मैले नै जितेको जस्तो ठानेको छु, माओवादीले जित्दा त ठान्ने नै भएँ ।’
लामो समयदेखि कृषि र त्रिभुवन विश्वविद्यालयबीच भौतिक सम्पत्तिमाथिको विवाद अन्त्य गर्न आफू सफल भएको पनि प्रधानमन्त्री दाहालले बताउनुभयो । सोही अवसरमा कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले विश्वविद्यालय कृषि विकास मन्त्रालयअन्तर्गत रहनुपर्ने बताउँदै विश्वविद्यालयले अध्ययन, अनुसन्धान र प्रसारमा लागेमा कृषिको आधुनिकीकरणमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा कैलाशनाथ प्याकु¥यालले विश्वविद्यालयमा प्रयोगात्मक पढाइ नभएमा गुणस्तरीय शिक्षा दिन नसकिने बताउनुभयो । विसं २०७० माघ २३ गते ३० महिनामा सम्पन्न गर्ने गरी अनक लुम्बिनी बङ्गलामुखी ज्वाइन्ट भेन्चरलाई सम्झौता गरी रु ३५ करोड ३४ लाख ८८ हजारमा निर्माणका लागि जिम्मा दिइएको थियो । विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. मनराज कोलाक्षपतिका अनुसार भूकम्प र नाकाबन्दीका कारण समयमा काम नसकिंदा आउँदो असारसम्म सम्पन्न गर्ने गरी नौ महिना समय अवधि थप गरिएको थियो । विश्वविद्यालयमा एक हजार ८८३ विद्यार्थी अध्यनरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार