क्षेत्रीय इतिहास लेखनमा जोड

बागलुङ÷देशभरका इतिहास विषयका प्राध्यापकले क्षेत्रीय इतिहास लेखनमा जोड दिनुभएका छन् । इतिहास, संस्कृति र पर्यटन विषयमा यहाँ भएको राष्ट्रिय गोष्ठीका सहभागीले ‘जनताको इतिहास’ लेखिनुपर्नेमा मत जाहेर हुन् । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको स्थिति उजागर गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो ।

त्रिवि इतिहास केन्द्रीय विभाग र नेपाल इतिहास संघद्वारा आयोजित गोष्ठीमा नेपाल इतिहास संघका सभापति प्रा डा सुरेन्द्र केसीले इतिहास बाधक होइन, साधक हो भन्दै इतिहासलाई समाजका हरेक क्षेत्रसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले क्षेत्रीय भाषा, जातजाति, संस्कृति, इतिहास, पर्यटनलगायत सबै क्षेत्रको इतिहास लेख्नुपर्ने बताउनुभयो ।

त्रिवि इतिहास विषयका प्रा डा कृष्णबहादुर थापाले इतिहास विषयप्रति विद्यार्थीको आकर्षण घट्नु चिन्ताजनक रहेको उल्लेख गर्दै संसारमै इतिहास विषय सङ्कटमा परेजस्तो देखिएको बताउनुभयो ।

गोष्ठीले बागलुङ घोषणापत्र समेत जारी गरेको छ । घोषणापत्रमा ऐतिहासिक, धार्मिक, सांस्कृति र पर्यटकीय क्षेत्रका पहिचान र उजागर गरिनुपर्ने, इतिहास लेखन र निर्माणमा अनुसन्धानकर्ताको ध्यानाकर्षण गराउनेलगायत बुँदा उल्लेख छन् । दुई दिनसम्म चलेको गोष्ठीमा पाँच शीर्षकमा कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो । ‘गलकोट राज्यको इतिहास’ विषयमा गलकोट बहुमुखी क्याम्पसका प्रा कृष्णप्रसाद गौतम र  ‘ऐतिहासिक दुष्टिमा म्याग्दी जिल्ला’ शीर्षकमा प्रा कर्णबहादुर बानियाँले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यस्तै ‘धवलागिरिमा पर्यटन प्रवद्र्धन, सम्भावना र चुनौती’ विषयमा डा सुदर्शन सिलवाल, ‘बागलुङको संक्षिप्त ऐतिहासिक सिंहालोकन’ शीर्षकमा सहप्राध्यापक विष्णुप्रसाद शर्मा र ‘नेपाली भाषाको ऐतिहासिक पृष्ठभूमिमा धवलागिरिको योगदान’ शीर्षकमा सहप्राध्यापक डा. दिनबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

विश्वविद्यालयको अनुदान आयोगको सहयोग र नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको गोष्ठीमा सहभागीले स्थलगत अवलोकन भ्रमणसमेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार