४८ प्रजातिका अखेटोपहार नष्ट ।

टुरिजमन्युज, जेठ ०८ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चोरी सिकारको प्रवृत्तिलाई निरुत्साहित पार्न अखेटोपहार नष्ट गरिएको बताउनुभएको छ । वन्यजन्तुको अखेटोपहार नष्ट गर्न कसरामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अन्तराष्ट्रिय बजारमा अखेटोपहारको माग छ भन्ने प्रचारबाजीलाई निस्तेज पार्न यस्तो अभियान सहयोगी हुने विश्वास पनि व्यक्त गर्नुभयो । नेपालमा दुर्लभ वन्यजन्तुको चोरीसिकारलाई गम्भीर अपराधका रुपमा लिइएको र अपराधीमाथि कडा कारबाही गर्न सरकार नचुक्ने समेत उहाँले बताउनुभयो । नेपालका दुर्लभ वन्यजन्तु मात्रै नभएर अन्य मुलुकबाट नेपालको बाटो भई अखेटोपहारको अनधिकृत रुपमा हुँदै आएको ओसारपसार नियन्त्रण गर्न पनि सरकार कडार्इका साथ लागेको मन्त्री महतले बताउनुभयो । चोरी सिकार न्यून गर्ने अभियानमा सरकारी निकायलाई स्थानीय जनसमुदायको सहयोग महत्वपूर्ण हुने उहाँले बताउनुभयो । कार्यक्रममा वनमन्त्री शङ्कर भण्डारीले नेपाल साइटिसको नीति र नियम पालना गर्न प्रतिबद्ध छ भन्ने सन्देश यसले दिने उहाँको विश्वास व्यत्त गर्नुभयो ।

सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा भण्डारण गरिएका एक हजार ७३९ थान र चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा भण्डारण गरी राखिएका दुई हजार २७३ थान गरी जम्मा चार हजार १२ थान अखेटोपहार नष्ट गरिएको हो ।

यसमा बाघको छाला ६७ थान, गैँडाको खाग ३५७ थान, हात्तीको पुच्छरको राँै ३५४ थान, कस्तुरीको बिना ३४ थान, ध्वाँसे चितुवाको छाला दुई थान, हिउँ चितुवाको छाला एक थान, चिरुको ऊन ४२ पोका, सालकको खपटा दुई पोका, हाब्रेको छाला ४७ थान, चितुवाको छाला ४१८ थान, भालुको पित्त १५ थानलगायतका अखेटोपहार रहेका थिए । भण्डारणमा रहेका पाँच थान बाघको छाला, १० थान एकसिङ्गे गैँडाको खाग, चार थान कस्तुरीको बिना, एक थान ध्वाँसे चितुवाको छाला, एक थान हिउँचितुवाको छाला, दुई थान रातो हाब्रेको छाला र पाँच थान चितुवाको छाला अध्ययन अनुसन्धानका लागि राखिने छ । सत्ताइस प्रजातिको ८४ थान अखेटोपहार सुरक्षित राख्न लागिएको छ ।

अखेटोपहार व्यवस्थापन कार्यान्वयन समितिका संयोजक एवम् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार नष्ट गरिएका अखेटोपहार साइटिसको अनुसूची–१ मा सूचीकृत प्रजाति १८, अनुसूची–२ मा सूचीकृत प्रजाति चार, अनुसूची–३ मा सूचीकृत प्रजाति चार र अन्य प्रजाति २२ गरी ४८ प्रजातिका छन् ।

एक हजार एक सय केजी हात्तीका दाह्रा हाल नष्ट नगरिने भएको छ । दाह्रा जलाउन ९०० डिग्री सेन्टिग्रेट तापक्रम आवश्यक पर्ने भएकाले तत्काल त्यो काम संभव नभएको हो । वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले दुर्लभ र लोपोन्मुख वन्यजन्तुका अखेटोपहारहरु चोरीसिकारी र अवैध व्यापारीमार्फत बजारमा आउन सक्ने जोखिमको अन्त्यसमेत यो अभियानबाट हुने बताउनुभयो । अखेटोपहारको सुरक्षामा चुनौती रहेको भन्दै उहाँले आर्थिक तथा प्राविधिक हिसाबले पनि नष्ट गर्नु औचित्यपूर्ण भएको दाबी गर्नुभयो ।

मलेसिया, युएई, चीन, श्रीलङ्का, संयुक्त राज्य अमेरिका, थाइल्यान्ड, केन्या, भियतनामलगायतका देशले समेत यसरी अखेटोपहार नष्ट गर्ने गरेका छन् । निकुञ्ज अन्तर्गतका अखेटोपहार चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरा र वन विभागअन्तर्गतको अखेटोपहार सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा राखिएको थियो । सङ्कलित अखेटोपहारमा अन्य देशबाट नेपाल हुँदै ओसारपसार गर्दा बरामद गरिएका समेत रहेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ ४ गतेको निर्णयअनुसार अखेटोपहार नष्ट गरिएको हो । अध्ययन र अनुसन्धानका लागि भने केही अखेटोपहार राखिएको छ ।
अखेटोपहार जलाइसकेपछि बाँकी रहने खरानी पुरेर त्यसमाथि स्मारक बनाइने बताइएको छ ।
यसअघि २०५४ चैत ९ गते सशस्त्र वन रक्षक तालिम केन्द्र, टिकौलीमा अखेटोपहार जलाएर नष्ट गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा १५ मिटर लम्बाइ र पाँच मिटर चौडाइको इँटा पोल्ने चिम्नीजस्तो संरचना निर्माण गरेर अखेटोपहार जलाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार