भलिबल अब नेपालको राष्ट्रिय खेल


मन्त्रीपरिषद्को बैठकले भलिबललाई नेपालको राष्ट्रिय खेल मान्ने निर्णय गरेको छ । नेपालको भौगोलिक विकटता, अन्य खेलको तुलनामा थोरै लगानी र यसको व्यापक पहुचकै आधारमा भलिबललाई राष्ट्रिय खेल बनाउनु पर्ने भन्दै नेपाल भलिबल संघले लामो समयदेखि माग गर्दै आएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयको सुझावका आधारमा सरकारले भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिएका दिनुभयो ।
डन्डीबियो र कबड्डीलाई कतिपयले नेपालको राष्ट्रिय खेलका रुपमा बुझ्दै आएका थिए । अन्तराष्ट्रिय भलिबलमा भाग लिएको चार दशकपछि केहि महिनाअघि पहिलो पटक अन्तराष्ट्रिय पदक जित्न सफल भलिबल आन्तरिक रुपमा सबै भन्दा बलियो संगठन भएको खेल हो । भलिबलको सबै जिल्लामा जिल्ला संघ छ ।
नेपालमा फुटबल, क्रिकेट र भलिबल सबैभन्दा लोकप्रिय खेल मानिन्छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का तत्कालिन सदस्य सचिव युवराज लामाको सयममा कुन खेललाई राष्ट्रिय खेल बनाउने भन्ने बहस सुरु भएको थियो । युवा तथा खेलकुद मन्त्रालयले तीन बर्षअघि कुन खेललाई राष्ट्रिय खेल बनाउने भन्ने विषयमा सुझाव संकलन गरेको थियो ।

नेपाल भलिबल संघको यसअघि दानबहादुर तामाङको नेतृत्वमा रहेको कार्यसमितिले भलिबललाई राष्ट्रिय खेल बनाइनु पर्ने माग सहित हस्ताक्षर संकलन समेत गरि सुझाव दिनुभएको थियो । भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले सरकारको निर्णयको स्वागत गर्दै यसले भलिबल विकासमा थप उर्जा मिलेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार