डिपो कार्यालय खोटाङलार्इ कुहिएको चामल नष्ट गर्न आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको केपीलासगढी गाउँपालिका–४, बाक्सिलास्थित नेपाल खाद्य संस्थानको डिपो कार्यालयमा कुहिएर रहेको चामल तत्काल नष्ट गर्न खाद्य संस्थान र प्रशासनलाई निर्देशन दिएको छ । उत्तरी क्षेत्रमा रहेको खाद्य संस्थानको डिपोमा ४६ क्विन्टल ९० केजी चामल कुहिएको पाइएपछि आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले तत्काल नष्ट गर्न निर्देशन दिएको हो ।

कुहिएर किरा परेको चामल गन्हाउन थालेकाले तत्काल नष्ट नगरे मानव स्वास्थ्यमा समेत असर पर्ने खतरा बढेकाले खाद्य संस्थान प्रधान कार्यालय काठमाडौँ, नेपाल खाद्य संस्थान अञ्चल कार्यालय, लहान र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराइएको आयोगले जनाएको छ ।

डिपोमा आव २०७१/०७२ मा स्टक गरिएको ४६ क्विन्टल ९० केजी चामलको मूल्य बजारको भन्दा महँगो भएपछि बिक्री नहुँदा गोदामा नै कुहिएको हो । सुरक्षित भण्डारणको अभावमा कुहिएको चामल मानवका लागि उपयोग गर्न नमिल्ने भएकाले नष्ट गर्न निर्देशन गरिएको राष्ट्रिय मानवअधिकार आयोगको उपक्षेत्रीय कार्यालय खोटाङका मानवअधिकार सहायक लोकनाथ घिमिरेले बताउनुभयो ।

आयोगको टोलीले चामल सडेको गुनासो आएपछि जेठ १ गते डिपो कार्यालयको अनुगमन गरेको थियो । बिक्री नभए पनि कर्मचारीले सुरक्षित तरिकाले भण्डारण गर्नेतर्फ ध्यान नदिँदा ठूलो परिमाणको सोना मन्सुली चामल सड्न पुगेको हो ।

भूकम्प र भारतीय नाकाबन्दीका समयमा चाहिने भन्दै स्टक राखिएको चामल बजारको भन्दा महँगो हुँदा गोदाममै थन्किएको डिपो प्रमुख अनिलकुमार महतोले बताउनुभयो । सो चामलको मूल्य प्रतिकेजी रु ४४ तोकिएको थियो । केही समयपछि प्रतिकेजी रु ४२ मा झारेपनि चामल बिक्री नभएको डिपोले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार