यार्सागुम्बा सङ्कलनको याम शुरु, अधिकाशं बस्तीहरु रितै ।

डोल्पा लगायत हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ जानेहरुको ताँती नै लागेको छ । यार्सागुम्बा सङ्कलन गरी मनग्य आम्दानी गर्ने लक्ष्यका साथ जाजरकोट, रुकुम, रोल्पा, सल्यान लगायत जिल्लाबाट हजारौँ सर्वसाधारण डोल्पा पुगेका छन् ।

उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा आम्दानीको मुख्य स्रोतको रुपमा रहँदै आएको छ । बर्सेणी जेठ पहिलो सातादेखि असार पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन गरेर लाखौँ रुपैयाँ आम्दानी गर्छन् ।

यार्सागुम्बा सङ्कलनको याम सुरुभएसँगै बन्दोबस्तीका सामानसहित सर्वसाधारण हिमाली क्षेत्रमा पुगेका छन् । त्रिपुरासुन्दरी नगरपालिका– १ का वीरबहादुर थापा यार्सागुम्बा टिपेर कमाएको आम्दानीले आधारभूत आवश्यकता पूरा गर्ने गरेको बताउनुहुन्छ । “ जोखिम मोलेर भए पनि यार्सागुम्बा सङ्कलन गर्नुको विकल्प छैन,” उहाँले भन्नुभयो । यार्सागुम्बा टिप्न उच्च हिमाली क्षेत्र पुगेका कतिपय सङ्कलकले बर्सेनि ज्यान गुमाउने गरेका छन् ।

यार्सागुम्बा पाइने यहाँको हिमाली क्षेत्र आजबाट सङ्कलनका लागि खुल्ला गरिएको छ । यहाँका भोक्पा, भाङ्का, सागबारी, कुनास, नावरपानी, रुपपानी, पोखेपानी, प्यारी भोक्पा, ताक्सीलगायत ठाउँमा यार्सागुम्बा सङ्कलन कार्य सुरु भएको छ । यार्सागुम्बा पाइने क्षेत्रको केही भाग सामुदायिक वनभित्र तथा केही भाग शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्छ ।

निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीका अनुसार एक हप्ता अगाडि नै सार्वजनिक सूचना जारी गर्दै जिल्लाका सुलीगाड, त्रिपुराकोट, तोइजुम, त्रिपुराकोट, धोलगायत दशवटा ठाउँ सङ्कलनका लागि खुल्ला गरिएको छ । राष्ट्रिय निकुञ्ज निर्देशिका अनुसार जिल्ला बाहिरका सङ्कलकलाई रु तीन हजार, जिल्लाभित्रकालाई रु दुई हजार, संरक्षित क्षेत्रका सर्वसाधारणलई रु ५०० का दरले सङ्कलन दस्तुर लिने गरिएको छ ।

गत वर्ष छ हजारभन्दा बढीले सङ्कलन गरेका र यस पटक सो सङ्ख्या अघिल्लो वर्षको भन्दा बढ्ने चौधरीले बताउनुभयो । जेठ ११ गतेदेखि असार ९ गतेसम्मका लागि सङ्कलन रसिद वितरण गरिएको छ । सो अवधि भन्दा बढी समयसम्म हिमाली भेगमा बस्न नपाइने कानुनी प्रावधान छ । यार्सागुम्बा सङ्कलन कार्यलाई व्यवस्थित गर्न सुरक्षा व्यवस्था व्यवस्था कडा पारिएको छ ।

यार्सागुम्बा सङ्कलनका लागि बन्दोबस्तीका सामानसहित सर्वसाधारण हिमाली भेगतर्फ लागेपछि यहाँका गाउँघर सुनसान वनेका छन् । घरकुरुवाका रुपमा अशक्त र वृद्धवृद्धा मात्र बसेका छन् । डोल्पाका कतिपय विद्यालय आंशिक रुपमा बन्द भएका छन् भने केही विद्यालय पूर्णरुपमा बन्द भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार