शान्तिका लागि शेर्माद्वारा सगरमाथा आरोहण ।

टुरिजमन्युज १२ जेठ । विश्व शान्तिको कामना गर्दै ‘आणविक अस्त्र निश्तेज गरौँ’ भन्ने मूलनाराका साथ सुशील शेर्माले सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

सगरमाथा आरोहण सहयोग समितिले पत्रकार सम्मेलन गरी आरोही शेर्माले यही जेठ ५ गते सगरमाथाको टाकुरामा नेपाली झन्डा फहराएर विश्व शान्तिका लागि आणविक हतियार र अस्त्रशस्त्रको अन्त्यका लागि आग्रह गर्नुभएको जानकारी दिनुभयो ।

विश्वमा आणविक हातहतियारसँगै अस्त्रशस्त्रको प्रभाव बढ्दै गएको अवस्थामा आणविक अस्त्रको अन्त्यको अभियान नेपालबाट सुरुवात गरेको बताउँदै उहाँले विश्व शान्तिको सन्देश फैलाउन सो आरोहण गरिएको बताउनुभयो । मानव इतिहास र सभ्यता नै समाप्त गर्नसक्ने यस्ता घातक हतियार उत्पादनमा विश्वका केही शक्ति राप्ट्र प्रतिस्पर्धा गरिरहेकाले यस्तो उत्पादनको विश्व मानव समुदायले विरोध गर्न आवश्यक रहेको र विश्वका मानवअधिकारवादी संस्थालाई पनि सो मुद्दा जोडदाररुपमा उठाउन आग्रह गर्नुभयो ।

विसं २०६४ देखि २०६८ सम्म नेपाली सेनामा सेवा गर्नुभएका पाँचथर जिल्लाका बासिन्दा शेर्माले यसअघि विश्वको तेस्रो अग्लो हिमाल (ताप्लेजुङको कञ्चनजङ्गा) आधार शिविरसम्मको पदयात्रा तथा २०७१ कार्तिक ३० मा रसुवा जिल्लामा अवस्थित छ हजार २०० मिटर उचाइको लाङ्टाङ हिमालको सफल आरोहण गर्नुभएको थियो । उहाँले विसं २०६८ मा सोलुखुम्बु जिल्लामा अवस्थित ६,१८९ मिटर उचाइको आइसलैण्ड पिक चढनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार