सालकको संरक्षण गर्न किसानलाई तरकारी खेती तालिम

बनेपा÷ लोपोन्मुख सालकको संरक्षण गर्न काभ्रेको दुई सामुदायिक वन उपभोक्ता समितिका उपभोक्तालाई पाँचखालमा व्यावसायिक तरकारीखेती सम्बन्धी तालिम दिइएको छ ।

तरकारी खेतीमा आउने धमिरा तथा कमिला सालकको आहारा भएकाले व्यावसायिक तरकारी खेतीको माध्यमबाट सालकको बासस्थान सुरक्षित गर्न सकिने  विश्वास किसानले गरेका छन ्। कृषिका लागि शत्रुजिव मानिएका धमिरा र कमिला खाएर  सालकले हाम्रो कृषि उत्पादन बढाउँने भएकाले आफुहरुले अर्गानिक तरकारी खेती नै गर्नुपर्ने किसनहरुले बताए ।

ज्याम्दीको बासखर्क सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रमेशप्रसाद पराजुलीले व्यवसायिक तरकारी खेतीमा आउने धमिरा तथा कमिलालाई आहार बनाएर सालकले तरकारी खेतीको समेत संरक्षण गर्ने उल्लेख गर्दै सालक किसानको साथी भएको बताउनुभयो ।

धुलिखेलको कटुवापाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वेदप्रसाद बडालले अर्गानिक खेतीको माध्यमबाट सालकको संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो ।
प्राकृतिक सम्पदा नेपालकी अनुसन्धानकर्ता प्रतिभा कसपालका अनुसार सालकको बासस्थानमा अवरोध खडा नगर्न र तरकारी खेतीमा आउने धमिरा तथा कमिला सालकको आहारा हो भन्ने कुरा किसानलाई बुझाउन तरकारीखेती तालिम सञ्चालन गरिएको हो ।

जिल्लाको बासखर्क र कटुवापाखा सामुदायिक वन उपभोक्ता समितिका करिब २५ जना उपभोक्ता तरकारीखेती तालिममा सहभागी छन् । ती सामुदायिक वन सालकको लागि बासस्थान सुरक्षित भएको क्षेत्र भएकाले अनुसन्धानसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार