सक्कली परिचय पत्र देखाएरै मतदाता शिक्षा

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा बदर मतको संख्या बढेपछि निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षालाई अझै प्रभावकारी र घनिभूत तुल्याउने भएको छ ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा आयोगले दोस्रो निर्वाचनमा नमूना मतपत्रबाट मतदान गर्न सिकाउनुका साथै मतदाता केन्द्रहरुमा सक्कली मतपत्रका आधारमा मतदान चिह्नका बारेमा जानकारी दिने व्यवस्था समेत गरिने आयोगका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो ।
मुलुकका चार प्रदेशका ४३ जिल्लाका ४६१ स्थानीय तहमा यही जेठ ३१ गते बुधवार स्थानीय तहको दोस्रो चरणको निर्वाचन हँुदैछ ।

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनलाई लक्षित गरेर मुलुकका ११ हजार ९३१ मतदान केन्द्रमा नमुना मतपत्रको आधारमा नमुना मतदानका अतिरिक्त मतदानमा सहभागी हुन प्रेरित गर्ने सडक नाटक समेत सञ्चालन गर्ने जनाएको छ ।
आयोगले प्रत्येक मतदान केन्द्रमा कम्तीमा एकजना सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र शिक्षक शिक्षिकालाई मतदाता शिक्षा कार्यकर्ताका रुपमा खटाएको छ ।
निर्वाचनमा सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन आयोगले सञ्चारमाध्यममार्फत मतदाता शिक्षालाई घनिभूत बनाउनुका साथै राजनीतिक दल र अन्य सरोकार पक्षलाई समेत मतदाता शिक्षामा जोड दिन आग्रह गरेको छ ।
दोस्रो चरणको निर्वाचनमा आयोगले अवधी, भोजपुरी, लिम्बुजस्ता स्थानीय भाषामा निर्वाचन कार्यक्रम सञ्चालन गर्नुका साथै महिला, दलित र अल्पसंख्यक समुदायलाई लक्षित गरेर पनि मतदाता शिक्षा अघि बढाइने जनाएको छ ।
मतदाता परिचयपत्र वितरणका क्रममा मतदाता शिक्षा दिने कार्यको अनुगमन गर्ने व्यवस्था समेत मिलाइएको जानकारी आयोगले दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार