खेलकुदमा बजेट निराशाजनकः क्रिकेटलाई प्राथमिकता


सरकारले गरेको प्रस्तुत आर्थिक बर्ष २०७४÷२०७५ को बजेट खेलकुद क्षेत्रका लागि निराशाजनक भएको छ । क्रिकेट खेलको भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसदमा सोमबार सार्वजनिक गर्नुभएको बजेटमा खेलकुदका लागि कुल दुई अर्व २४ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ ।
सरकारले चालु बर्ष २०७४÷२०७५ को लागि विनियोजन गरेको खेलकुद बजेट अघिल्लो चालु बर्ष २०७३÷०७४ को भन्दा १६ करोड चार लाख २८ हजार रुपैयाँ कम हो । सरकारले अघिल्लो चालुबर्षमा खेलकुदका लागि कुल दुई अर्ब ४० करोड चार लाख २८ हजार रुपैयाँ विनियोजन गरेको थियो । अघिल्लो बजेटमा भौतिक संरचना निर्माण अन्तर्गतका विषय तोकिए पनि यसपटक संरचनाको विषय र स्थानबारे निक्र्योल गरिएको छैन । बजेटमा सन् २०१९ मा नेपालले आयोजना गर्न लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को विषय समेत उल्लेख गरिएको छैन । सरकारले विनियोजन गरेको यस बजेटमध्ये खेलकुदमा ४५ करोडभन्दा बढी रकम राखेप कर्मचारीको तलब र भत्तामा खर्च हुने गरेको छ ।
बजेटमा सरकारले काठमाडौंमा निर्माणाधिन मुलपानी क्रिकेट मैदान निर्माणलाई प्राथमिकतामा राखेको छ । यसैगरी बजेटमा देशभर विभिन्न आठ स्थानमा क्रिकेट मैदान निर्माण गरिने उल्लेख छ । सरकारले क्रिकेट र फुटबल खेलको स्तरोन्नती र विकास तथा अन्तर्रा्ष्ट्रिय सहभागितालाई पनि विशेष जोड दिने उल्लेख गरेको छ ।
सरकारले खेलकुदमा खर्च हुने रकम खेलकुद परिषद् अन्तर्गत देशभरका स्थानीय तहमा हस्तान्तरण गरिएको समेत उल्लेख गरेको छ । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई छुट्याएको यही बजेटबाट युवा परिषद् र मन्त्रालयको ब्यवस्थापनका लागि समेत खर्च गर्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार