श्रीलंकालाई युरोपेली संघले तीन लाख युरो सहयोग गर्ने


एजेन्सी÷ युरोपेली आयोगले बाढी पहिरोबाट पीडित श्रीलंकालाई मानवीय सहायता कोषमार्फत तीन लाख युरो छुट्याइएको जनाएको छ । बाढीपिडित समुदायका लागि आपत्कालीन सहयोगस्वरुप इयुले श्रीलङ्कालाई दिइने शुक्रबार जानकारी दिएको छ ।
इयुले दिएको सहयोग तल्लो तहका सबैभन्दा बढी प्रभावित परिवारका सदस्यहरुलाई भएको र यो युरोपियन मुलुकका जनताको तर्फबाट श्रीलंकाका जनताका लागि ऐक्वबद्धता भएको युरोपेली आयोगको मानवीय सहायता र संकट व्यवस्थापन आयुक्त क्रिष्टोस् स्टीलिअनीदेस बताउनुभयो ।
इयुले प्रभावित क्षेत्रका मान्छेहरुलाई खाद्यान्न, खानेपानी, सरसफाइका सामग्री, आश्रय स्थललगायत अत्यावश्यक भएको पनि जनाएको छ । श्रीलंकामा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या शुक्रबारसम्म २०६ पुगेको र ९२ जना अझै हराइरहेको प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यस प्रकोपको कारण झन्डै छ लाख ५० हजार सर्वसाधारण प्रभावित भएका छन् भने, एक लाख जना सुरक्षित स्थानमा विस्थापित भएका छन् । बाढी पहिरोका कारण १० हजार घर पूर्ण तथा आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।
संयुक्त राष्ट्र सङ्घीय विश्व स्वास्थ्य संघठन, विश्व बालबालिका कोष, भारत, पाकिस्तानलगायत अन्य मुलुकले यस बाढिपहिरो पीडित जनतालाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य उद्धार सामग्रीको सहयोग पठाइरहेका छन् ।
श्रीलंकालाई सन् २००३ देखि बाढी पहिरोले नराम्ररी सताउन थालेको हो । त्यस वर्ष परेको भीषण वर्षात्ले दुई सय पचास जनाको मृत्यु हुनाको साथै दश हजार जति घरधुरी नष्ट भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार