पर्यटक आगमन ४० प्रतिशत वृद्धि ।

सन् २०१६ मा करिब ४० प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आर्थिक वर्ष २०७२/७३ मा सात लाख ५३ हजार दुई पर्यटकले नेपाल भ्रमण गरेको उल्लेख छ । सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० पर्यटक आएका थिए । कुल पर्यटक आगमनको सङ्ख्यालाई देशगत रुपमा विश्लेषण गर्दा सन् २०१६ मा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुकमध्ये भारत १५ दशमलव ७ प्रतिशतले अगाडि छ । अन्य देशहरु क्रमशः चीन १३ दशमलव ८, श्रीलङ्का ७ दशमलव ६, अमेरिका ७ र बेलायत ६ दशमलव एक रहेका छन् । यी देशबाट आएका पर्यटकले कुल पर्यटकको ५० प्रतिशतभन्दा बढी अंश ओगटेको पाइन्छ । सन् २०१५ मा बढी पर्यटक आउने मुलुकमा क्रमशः भारत १४, चीन १२, अमेरिका १०, श्रीलङ्का ८ र थाइल्यान्ड ६ प्रतिशत रहेको छ ।

यस्तै मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब रु ४२ अर्ब आम्दानी भएको छ । सर्वेक्षण अनुसार उत्त अबधिमा पर्यटन क्षेत्रबाट रु ४१ अर्ब ७६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यो आर्जन विदेशी मुद्राको अनुपातमा ५५ दशमलव आठ प्रतिशत, कुल वस्तु निर्यात तथा सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा १९ दशमलव छ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको अनुपातमा १ दशमलव ९ प्रतिशत हो

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा पर्यटन क्षेत्रबाट रु ३६ अर्ब १९ करोड ९० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यो आर्जन विदेशी मुद्राको अनुपातमा ६६ दशमलव ८ प्रतिशत र कुल वस्तु निर्यात एवम् सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २३ दशमलव ३ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार