गोसाईंकुण्ड पुग्ने धार्मिक पर्यटकले चढाए तीस हजार भेटी

रसुवा÷ धार्मिक पर्यटकिय क्षेत्र तथा पवित्र तीर्थस्थल गोसाइँकुण्ड मन्दिरमा यस वर्ष गंगा दशहरा पर्वमा ३० भेटी संकलन भएको छ । गोसाईंकुण्ड पुग्ने धार्मिक पर्यटक भक्तजनले करिब ३० हजार भेटी चढाएका हुन् ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भेटी २९ हजार ८८७ संकलन भएको जानकारी दिनुभएको हो । पुजारीले जम्मा गरी ल्याएपछि धुन्चेमा भेटी गणना गरिएको हो । यही जेठ १२ देखि २१ गतेसम्म परेको यस वर्षको गंगादशहरा पर्वका अवसरमा पाँच हजार भक्तजनले गोसाइँकुण्ड दर्शन गरेको समितिले जनाएको छ ।

पौराणिक कालमा राजा भगीरथले आफ्ना साठी हजार छोराको मुक्तिका लागि तपस्या गरी गंगा (भागीरथी) नदीलाई पृथ्वीमा ल्याएको दिनलाई गंगा दशहरा मानिन्छ । यो दश प्रकारका पाप नाश हुने भनी गंगा स्नान गरिने ज्येष्ठ शुक्ल दशमीको दिन पनि हो । समुद्री सतहबाट १४ हजार १०० फिको उचाइमा अवस्थित धार्मिक पौराणिक गोसाइँकुण्डमा दशहरा र रक्षाबन्धनका अवसरमा विशेष मेला लाग्छ ।

समुद्रमन्थनबाट प्राप्त हलाहल विषको सेवनबाट डाह भई शीतलता प्राप्त गर्न पार्वतीको माइती हिमालय पर्वतमा जान हिँडेका शिवले नीलाद्री पर्वतमा त्रिशूल रोप्दा पानीको तीनधारा बगी नीलखेतमा जम्दा गोसाइँकुण्ड उत्पत्ति भएको र शिव त्यहीँ शयन गरेको बताइन्छ । शिवलाई गोसाइँकुण्डमा शयन गरेको अवस्थामा अहिले पनि देखिने भक्तजन बताउँछन् । गोसाइँकुण्ड जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने तीर्थ मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार