स्वीट्जरल्याण्डको एक गाउमा पर्यटकहरुलाई फोटो खिच्न प्रतिबन्ध ।

स्वीट्जरल्याण्डको एक सुन्दर गाउँले पर्यटकहरुलाई गाउँको फोटो खिच्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। त्यो गाउँ घुमेका मानिसले अपलोड गरेको फोटो देख्दा त्यहाँ पुग्न नसक्नेहरुमा ईर्ष्या पैदा हुने र उनीहरुको खुसीमा धक्का लाग्ने भन्दै यस्तो प्रतिबन्ध लगाइएको हो। स्थानीयहरु आफ्नो गाउँ अत्यन्त सुन्दर भएको विश्वास गर्छन् ।

यस्तो प्रतिबन्ध स्वीट्जरल्याण्डको सेन्टमोरिज नजिकै रहेको बेर्गन गाउँको परिषद्ले मतदान मार्फत लगाएको हो। प्रतिबन्ध उल्लंघन गरी कसैले फोटो खिचेमा सांकेतिक पाँच फ्र्यांक जरिवाना पनि गरिने जनाइएको छ। अरुले छुट्टीमा खिचेका सुन्दर फोटो सामाजिक सञ्जालमा हेर्दा मानिसहरु दुःखी हुन्छन्, किनभने उनीहरु आफैँ त्यहाँ पुग्न सक्दैनन्। यो कुरा वैज्ञानिक रुपले नै पुष्टि भइसकेको छ।’ स्थानीय पर्यटकीय कार्यालयको भनाइ अंग्रेजी भाषाको डिजिटल समाचारपत्र द लोकलले उधृत गरेको छ।

‘बेर्गन सुन्दर छ। हाम्रो सुन्दर गाउँको फोटो सामाजिक सञ्जालमा सेयर हुन दिएर अरुलाई बेखुसी बनाउन चाहँदैनौँ। हामी सबैलाई आफैँ यस स्थान भ्रमण गरेर यो सुन्दरताको अनुभव लिन निम्त्याउँछौँ,’ मेयर पिटर निकोलाइले भनेका छन्।

तर अरुलाई खुसी बनाउने सो गाउँको यो प्रयासले भने मानिसहरुमा उल्टै रिसाएका छन्। केहीले यसलाई ‘पब्लिसिटी स्टन्ट’ मानेका छन्। केहीले समाजिक सञ्जालमा यसको चर्को आलोचना पनि गरेका छन्। कतिपयले सो गाउँलाई उत्तर कोरियासँग तुलना गरेका छन्।

तर स्थानीय पर्यटन कार्यालयले आफ्नो फेसबुक र ट्वीटर अकाउन्टबाट समेत सो गाउँको फोटो हटाइसकेको छ। एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार