भारतसँग नेपालको पर्यटन साइनो गाँसिदै ।

पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध संस्थासँग साझेदारिता बढाउने प्रयास थालिएको छ ।

पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यसहित अघिल्लो वर्ष नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको पहलमा इस्टर्न हिमालयन ट्राभल्स एन्ड टुर अपरेटर एसोसिएसन, भारत र पोखरा पर्यटन परिषद्बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौतामा व्यावसायिक दक्षता अभिवृद्धि, संयुक्त प्रचारप्रसार, व्यावसायिक नेटवर्किङ, प्रवद्र्धनलगायतका विषय समेटिएको थियो । पर्यटनका लागि साझेदारीको क्रम अघि बढाउन र पोखराको पर्यटन प्रवद्र्धन गर्न यस वर्ष पनि नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागिएको बोर्डको पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाले जानकारी दिनुभयो ।

“यस वर्ष जुन ९ देखि १४ सम्म गरिने कार्यक्रमका क्रममा भारतको सिलगुडी, डुअर्स र ग्याङ्टोकमा त्यहाँका पर्यटनसम्बद्ध सङ्घ संस्थाका प्रतिनिधिसँग पोखरासहित समग्र नेपालको पर्यटनको विकास र साझेदारिता सम्बन्धमा छुट्टाछुट्टै छलफल एवम् अन्तक्र्रिया गरिने छ,” उहाँले भन्नुभयो, “उत्तरपूर्वी भारतका अधिकतम पर्यटकलाई नेपाल भित्र्याउन र उनीहरूको बसाइ लम्ब्याउन प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक महसुस गरी बोर्डले यस्तो कार्यक्रमलाई प्राथमिकता दिएको हो ।”

उत्तरपूर्वी भारतका पश्चिम बङ्गाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरमलगायतका राज्यबाट धेरै पर्यटक धार्मिकरुपले पनि नेपालको भ्रमणका लागि आउने गरेका छन् ।

पूर्वी हिमाली शृङ्खलासँग जोडिएका यी भूभागमा नेपाली भाषीको बाहुल्यता रहेको पाइन्छ । नेपालको पर्यटनको मुख्य बजार छिमेकी राष्ट्र चीन र भारत हुन् । भूकम्पपछि चीनबाट आउने पर्यटकको सङ्ख्यामा निकै कमी आएको छ भने, भारतबाट पनि अपेक्षित पर्यटक आएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार