एसियन कप छनौट खेलमा नेपाल र यमन मंगलबार भिड्ने

एसियन कप छनौट खेलमा नेपाल र यमनबीचको खेल आउँदो मंगलबार हुँदैंछ । नेपाली राष्ट्रिय टिम र यमनवीच हल्चोक मैदानमा हुने खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा शनिबार हुँदैछ । एसियन कप २०१९ छनोटमा नेपालले घरेलु मैदानमा पहिलो खेलमा यमनको सामना गर्न लागेको हो ।  मंगलबार हुने एसियन कप २०१९ छनोटको खेल ७ सय दर्शकले मात्र हेर्न पाउने भएको छ ।
सशस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा दर्शक बस्ने स्थानको कमी भएकाले ७ सय टिकट मात्र ई–सेवामार्फत् बिक्री गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी गराएको छ । यसअघि नेपालको खेलहरू दशरथ रंगशालामा हुँदै आएको थियो ।
करिब १८ हजार दर्शक क्षमताको दशरथ रंगशालामा पछिल्लोपल्ट २०७१ साल चैतमा एसियन कपरविश्वकप छनोटको प्ले–अफमा नेपाल र भारतको खेल आयोजना गरिएको थियो । उक्त खेल १० हजार बढी दर्शकले हेरेका थिए ।
२०७२ को महाभूकम्पले दशरथ रंगशाला क्षतिग्रस्त बनाएपछि राष्ट्रिय टिमको खेल हल्चोकमा सञ्चालन गर्न लागिएको हो । नेपालले छनोटको पहिलो खेल मनिलामा तीन महिनाअघि फिलिपिन्ससँग खेलेको थियो । त्यसमा नेपालले ४–१ को हार बेहोरेको थियो । यमनले पहिलो खेलमा ताजकिस्तानलाई २–१ ले हराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार