रोपाईं महोत्सवका लागि भोटोफको प्याकेज कार्यक्रम सार्वजनिक

काठमाडौंः आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धन गर्न पर्यटन व्यवसायी र स्थानीयले  विभिन्न खाले आकर्षक कार्यक्रम गर्न थालेका छन् । असार महिनाको शुरुवातसंगै कृषि खेतीको रुपमा मात्र सिमित रहेको रोपाईं अब पर्यटकका लागि पर्यटन प्याकेजसमेत बन्न थालेको छ ।
गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ नेपाल)ले हरेक वर्ष १५ असारको दिन पारेर रोपाईं महोत्सवको आयोजना गर्न थालेपछि अहिले रोपाईं महोत्सव पर्यटकको प्याकेजको रुपमा विकास हुन थालेको छ । यस वर्ष पनि भिटोफ नेपालले नुवाकोटको शिवपुरी गाउँपालिका अन्तर्गत बुढीशेरामा रोपाईं महोत्सव गर्ने भएको छ । यो महोत्सवको सातौं शृंखला हो । आगामी असार १५ गते अर्थात जुन २९ तारिखका दिन एक विशेष कार्यक्रमको आयोजना गरि महोत्सव गर्न लागिएको संस्थाका उपाध्यक्ष तथा मिडिया संयोजक दीपक दाहालले जानकारी गराए । हरेक वर्ष जस्तै यस वर्ष पनि आन्तरिक तथा वाह्य पर्यटकलाई महोत्सवमा सहभागी गराउने गरि तयारी सुरु गरिएको उनको भनाइ छ ।
महोत्सवमा साँस्कृतिक कार्यक्रमसहित रोपाईं गर्ने, हिलो खेल्ने, दहीचिउरा खाने तथा बुढीशेरा अवलोकन गर्ने कार्यक्रम समेत राखिएको भिटोफका महासचिव वासु पाण्डेले बताए । उनले भिटोफ नेपालले रोपाईं महोत्सवलाई प्याकेजको रुपमा विकास गर्दै आएको भन्दै यस वर्ष पनि पर्यटकका लागि प्याकेजसहितको कार्यक्रम ल्याइएको बताए । पर्यटनन्यूजलाई प्रतिकृया दिदै उनले यस खालको कार्यक्रमले पर्यटन व्यवसायी, पर्यटक र स्थानीयवासी सबैलाई फाइदा पुग्ने बताए । यस वर्षको कार्यक्रमको संयोजन भने कार्यसमिति सदस्य हरिचन्द्र गैरेले गरेका छन् । उनले सँस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्न रोपाईं महोत्सवमा सहभागिताका लागि आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार