पर्यटक आकर्षित गर्न वनमा उद्यान

लमजुङको मध्य नेपालस्थित इशानेश्वरमा पर्यटक आकर्षित गर्न वन उद्यान निर्माण गरिएको छ । मध्य नेपाल नगरपालिका–६ मा रहेको रानी रिहिने सामुदायिक वनको १४ रोपनी क्षेत्रफलमा उद्यान निर्माण गरिएको हो ।

इशानेश्वर महादेव मन्दिरलाई जोड्ने गरी १४ रोपनी क्षेत्रफलमा फूलबारी वन उद्यान निर्माण गरिएको छ । उद्यानमा कल्की, असारे, सयपत्री, लालुपातेलगायतका विभिन्न प्रजातिका फूल, रुद्राक्ष, अशोक, बाँस, अम्रिसोलगायतका रुखका बिरुवा रोपिएको छ ।

वन उद्यानमा ट्रष्ट हल, दुईवटा सार्वजनिक शौचालय, खानेपानी धारा निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष दयाराम खनालले बताउनुभयो । वन उद्यानमा पिकनिक स्थल निर्माण गर्नुका साथै पर्यटक घुमाउनका लागि सुसाउने पहरा गुफा पुग्ने बाटो निर्माण गरिएको खनालले बताउनुभयो ।

आगामी वर्ष सुसाउने पहरा गुफालाई थप व्यवस्थित बनाउँदै इशानेश्वर महादेव मन्दिर जोड्ने पदमार्गसमेत निर्माण गरिने सामुदायिक वनका सदस्य प्रकाश खनालले बताउनुभयो ।

उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा १६ लाखभन्दा बढी खर्च गरिएको छ । उद्यानका लागि जिल्ला वन कार्यालयले रु आठ लाख, मध्य नेपाल नगरपालिकाले रु चार लाख, स्थानीयको श्रमदान तीन लाख ८८ हजार र सामुदायिक वनका तर्फबाट ७० हजार खर्च गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार