भोट हाल्न शिर्ष नेताहरु गृह जिल्लामा ।

दुई नम्बर प्रदेशबाहेक प्रदेश नम्बर १, ५ र ७ मा असार १४  अर्थात भोली स्थानीय तहको निर्वाचन हुँदैछ। त्यसका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु मत हाल्न आफू मतदाता रहेको ठाउँमा पुगिसकेका छन्। सबैजसो शीर्ष नेताहरु काठमाडौंमै घर बनाएर बसेपनि मतदाता भने आफ्नो गृहस्थानमा छन्।

प्रधानमन्त्री शेरबहादुर देउवादेखि सभामुख ओनसरी घर्तीसम्म आफ्नो गृह जिल्ला पुगिसकेका छन्। सबै जसो नेताहरु चुनावको प्रचारका लागि एक साताअघि नै गृह जिल्ला पुगेका थिए । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा एक साता अघि नै काठमाडौं छोडेर सुदूरपश्चिम पुगेका हुन् भने सभामुख घर्ती केही दिनअघि गृह जिल्ला रोल्पा पुगेकी हुन्।

उपराष्ट्रपति नन्दबहादुर पुनले रोल्पाको दुईखोली गाउँपालिका–२, जनसेवा मावि राङ्सीपोखरा मतदान केन्द्रमा मत हाल्ने छन्। यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर–१ स्थित असीग्राममा रहेको असीग्राम उच्चमाविको मतदान केन्द्रमा भोट हाल्नेछन् भने सभामुख ओनसरी घर्ती मगरले रोल्पा नगरपालिका वडा नम्बर ७ मा रहेको बालउदय मावि जङ्कोट मतदान केन्द्रमा मत हाल्नेछिन्।

कांग्रेसका यी नेता कसले कहाँबाट गर्दैछन् मतदान?
अर्थ मन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुर षडानन्द नगरपालिका–१ मा रहेको शारदा उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् भने पूर्वमहामन्त्री केवी गुरुङले इलाम नगरपालिका वडा नम्बर ७ स्थित बालमन्दिर मतदान केन्द्रमा मत हाल्नेछन्। यस्तै, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर नगरपालिका–१०, कलवलगुढी केन्द्रमा मतदान गर्नेछन्।

केन्द्रीय सदस्यहरु केशवकुमार वुढाथोकीले झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे उच्चमावि, सरिता प्रसाईँले झापाकै बुद्धशान्ति गाउँपालिका–३ स्थित बुद्धआदर्श उच्चमावि मतदान, नेता शेखर कोइराला र सुजाता कोइरालाले विराटनगर महानगरपालिका–७ मा रहेको आदर्श स्कुल मतदान केन्द्रमा मतदान गर्ने छन् भने केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र महेश आचार्यले विराटनगर महानगरपालिका–२ शंकरपुरमा रहेको जनता मावि मतदान केन्द्र तथा केन्द्रीय सदस्य गुरुराज घिमिरेले मोरङको ग्रामथान गाउँपालिकास्थित धनीबनीमा रहेको पब्लिक उच्चमाविमा रहेको मतदान केन्द्रमा मत हाल्नेछन्।

यसैगरी केन्द्रीय सदस्यहरु डा.नारायण खड्काले उदयपुरको चौदण्डी नगरपालिकाको मतदान केन्द्र, बलबहादुर केसीले नेचा सल्यान गाउँपालिका–१ मा रहेको मतदान केन्द्र, बालकृष्ण खाँडले रुपन्देहीको तिलोत्तमा नगरपालिका–८, ज्योती आधारभूत विद्यालय, केन्द्रीय सदस्य खुमबहादुर खड्काले लमही नगरपालिका–८ स्थित सतवरिया मतदान केन्द्र र दिपक गिरीले दाङको दंगीशरण गाउँपालिका–४ को सुकदेवाको मतदान केन्द्रबाट मतदान गर्नेछन्।

यस्तै, केन्द्रीय सदस्यहरु एनपी साउदले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा रहेको सरस्वती उच्चमावि मतदान केन्द्र, रमेश लेखकले बेदकोट नगरपालिका–८ राष्ट्रिय माविको मतदान केन्द्र, दिलेन्द्रप्रसाद बडुले दार्चुलाको महाकाली नगरपालिका–५ को अपिनम्पा संरक्षण क्षेत्रको कार्यालयमा राखिएको मतदान केन्द्र र बद्री पाण्डेले बाजुराको हिमाली गाउँपालिका–४ मा रहेको शैलेश्वरी मावि शैलेश्वरी मतदान केन्द्रबाट मतदान गर्ने छन्।
केन्द्रीय सदस्य चन्द्र भण्डारीेले छत्रेकोट गाउँपालिका–१ हुँगामा रहेको जनजागृत मावि मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्।

एमालेका शीर्ष नेताहरु कहाँ कहाँबाट गर्दैछन् मतदान?
पहिलो चरणको स्थानीय तह निर्वाचनमा १२४ स्थानीय तहमा विजयी हासिल गरेर पहिलो पार्टी बनेको नेकपा एमालेका शीर्ष नेताहरु भोट हाल्न जिल्ला पुगिसकेका छन्। एमालेका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ नेता झलनाथ खनालले इलामको सुर्योदय नगरपालिका–९, स्थित राष्ट्रिय निमावि रम्फोक मतदान केन्द्रबाट मतदान गर्नेछन् भने संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलाम नगरपालिका–७ सुन्तलाबारीस्थित बालमन्दिर आधारभूत विद्यालय, हाकिमटोल मतदान केन्द्रबाट मतदान गर्नेछ। यस्तै, उपाध्यक्ष बामदेव गौतमले बाँसगढी–८,स्थित त्रिभुवन उमावि मतदान केन्द्रबाट मतदान गर्नेछन् भने उपाध्यक्ष भीम रावलले साफेबगर नगरपालिका– ६, स्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँमा मतदान गर्ने छन्। उपाध्यक्ष युवराज ज्ञवालीले दाङको तुलसीपुर उपमहानगरपालिका–१७ स्थित दिपेन्द्र मा.बि, मानपुर मतदान केन्द्रबाट मतदान गर्नेछन्।

यस्तै, उपमहासचिवद्वय विष्णु पौडेलले बुटवल उपमहानगरपालिका–८, स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नम्बर ४ मा रहेको मतदान केन्द्र र घनश्याम भुसालले तिलोत्तममा नगरपालिका–९ मणिग्रामस्थित गौतम बुद्ध शिशु सदन आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान गर्नेछन्।

यस्तै सचिवद्वय प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका–४, स्थित बम्घा निमावि भवन, चौताराबाट र गोकर्ण विष्टले इश्मा गाउँपालिका–४ स्थित रामराज्य मा.वि., दोहली मतदान केन्द्रमा मतदान गर्नेछन्।
यस्तै, सचिव भीम आचार्यले सुनसरीको इनरुवा नगरपालिका–६ स्थित जनता मावि मधेशा केन्द्रबाट मतदान गर्नेछन्। यस्तै, स्थायी कमिटी सदस्य शंकर पोखरेलले तुल्सीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठ, बिजौरी मतदान केन्द्र र नेता लालबाबु पण्डितले मोरङको महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नेछन्।

माओवादी केन्द्रका नेताहरुले कहाँबाट गर्दैछन् मतदान?
माओवादी केन्द्रका नेता  तथा उपप्रधान एवं परराष्ट्रमन्त्री समेत रहेका कृष्णबहादुर महराले रोल्पाको लिवाङ नगरपालिका–१ दामरुकको श्री तारा माध्यामिक विद्यालयको मतदान केन्द्रबाट मत हाल्नेछन् भने नेता वर्षमान पुन अनन्तले लिवाङ नगरपालिका वडा नम्बर ७ को बालोदय माध्यामिक विद्यालय माडिचौरबाट मतदान गर्नेछन्।

यस्तै, नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–९ मा रहेको अर्घा रहिसचौरको मतदान केन्द्र, नेतृ जयपुरी घर्तीले रोल्पाको दुईखोली गाउँपालिका–२ को राङ्सी माध्यामिक विद्यालय, नेता लेखराज भट्टले कैलालीको गोदावरी नगरपालिका–१ को घन्टेश्वर माध्यामिक विद्यालय अत्तरिया, नेता नारायण शर्माले दाङको तुल्सीपुर उपमहानगरपालिका– १७ मा रहेको जनकल्याण उच्च माध्यामिक विद्यालय दुधरासबाट मतदान गर्नेछन्।

यसैगरी नेता गोपाल किरातीले सोलुखुम्बुको सोताङ गाउँपालिकाको श्री हुलु निम्न माध्यामिक विद्यालय, नेता मणि थापाले प्युठानको प्युठान नगरपालिका–८ स्थित गेजवाङ निम्न माध्यामिक विद्यालय, नेतृ रेखा शर्माले प्युठान नगरपालिका–७ बिजुवारस्थित स्वर्गद्वारी क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गर्ने छिन्।

मधेसवादी दलका शीर्ष नेता कसले कहाँबाट मतदान गर्दैछन्?
राजपा नेपालबाहेक सवै मधेसवादी दलहरु स्थानीय तहको निर्वाचनमा सहभागी भएका छन्। निर्वाचनमा सहभागी भएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगर उपमहानगरपालिका–१४ का जतुवा डिग्री क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नेछन्।

यस्तै, नेपाल लोकतान्त्रिक फोरम पार्टीका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले सुनसरीको दुहबी नगरपालिकास्थित पचिरामा मतदान केन्द्रबाट मतदान गर्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार