पोर्चुगल र चिली सेमिफाइनलमा भिड्दै

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा पोर्चुगल र चिली आमनेसामने हुँदैछन् । फाइनल प्रवेशका निम्ति खेलअघि दुवै टोलीका खेलाडी एवं प्रशिक्षकले आफ्नो टोली फाइनल पुग्ने दावा गरेका छन् ।
युरोपेली च्याम्पियन पोर्चुगल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने कोपा अमेरिकाको उपाधि जितेको चिली समुह ‘बी’को उपविजेताको रुपमा दोश्रो चरणमा आइपुगेको हो । पोर्चुगल र चिली दुवै टोली जारी प्रतियोगितामा अपराजित रहेका छन्। फाइनल प्रवेशका निम्ति सो नतिजालाई कायम राख्न दुवै टोलीलाई दबाव छ ।
पोर्चुगलका लागि डिफेन्डर राफेल गुर्रेरो प्रतियोगिताको बाँकी खेलमा चोटका कारण उपस्थित हुने छैनन्। खुट्टामा चोट लागेका कारण उनलाई प्रशिक्षकले विश्राम दिने निर्णय गरेका हुन्। पोर्चुगलका लागि डिफेन्डर पेपे समूह चरणमा पाएको २ पहेंलो कार्डका कारण उपलब्ध हुने छैनन्। डिफेन्डर सेड्रिक र मिडफिल्डर बर्नार्डो सिल्भा पनि चोटका कारण सुरुवातदेखि खेल्नेमा शंका रहेको छ।
चिलीको लागि भने टोलीमा केहि समस्या रहेको छैन । अष्ट्रेलियाविरुद्धको खेलमा डिफेन्डर ग्यारी मेडेल चोटका कारण विश्राममा बसेका थिए। प्रशिक्षक जुआन एन्टोनियो पिज्जीले यस खेलका लागि मेडेल उपलब्ध रहने बताएका छन्। यसैगरी अष्ट्रेलियासँगको खेलमा कप्तान एवं गोलरक्षक क्लाउडियो ब्राभोले पनि पुनरागमन गरेका छन् । पहिलो २ खेलमे वैकल्पिक खेलाडीका रुपमा बेन्चमै रहेका उनले पोर्चुगलविरुद्ध सुरुवात गर्ने सम्भावना प्रबल छ । खेल नेपाली समयानुसार रातको ११ः४५ बजे सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार