पर्यटकलाई थप आकर्षण गर्न ताल प्रवद्र्धन

हजारौँ पर्यटक आउने लमजुङमा पर्यटकलाई थप आकर्षण गर्न तालको प्रवद्र्धन गरिएको छ । सदरमुकाम बँेसीसहर– २, भकुन्डे तालफाँटमा रहेको ताल मर्मत गरी पर्यटक प्रवद्र्धन गर्न थालिएको हो ।

तालको संरक्षण हुन नसक्दा लोप हुने अवस्थामा पुगिसकेको थियो । पछिल्लो समय स्थानीयवासीले मर्मत गरी आकर्षक बनाएका छन् ।

सुन्दर फाँटको बीचमा रहेको ताल र तालको बीचमा रहेको तालबराह मन्दिर निकै आकर्षक भएको लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेश थापाले बताउनुभयो ।

“तालको बीचमा मन्दिर निर्माण गरिएको छ, मन्दिरले पोखराको विन्ध्यावासीनीको झल्को दिन्छ ।” थापाले भन्नुभयो । उहाँले तालको प्रचारप्रसार गरी पर्यटक आकर्षण तर्फ लागिपरेको बताउनुभयो ।

तालसँगै यस क्षेत्रबाट प्राकृतिक दृष्यावलोकन समेत गर्न सकिने सोही वडाका अध्यक्ष गणेश कँडेल बताउनुहुन्छ । उहाँले तालको प्रवद्र्धनको लागि सस्थागत रूपमा लागि परेको बताउनुभयो ।

“आँखा अगाडि अन्नपूर्ण र मनास्लु हिमशृङ्खला, सूर्र्योदय र सूर्यास्तको दृष्यले मन लोभ्याउछ” कँडेलले भन्नुभयो “यसलाई प्रचारप्रसार गर्न सकियो भने पर्यटकको ओइरो लाग्ने अनुमान छ ।”
तालसँगको सम्बन्ध धिताल वंशसँग जोडिएको बताइन्छ । धि नामले प्रख्यात धिताल गोपाल वंशदेखि नै तालमा आधिपत्य जमाएर बसेको किम्बदन्ती छ ।

पौराणिक ग्रन्थ गीताअनुसार कृष्णका चेलामध्यको एक धि नाम गरेको गोठालो सानैदेखि तपस्वी रहेको र उनलाई तालको संरक्षणको जिम्मा दिइएको बूढापाका बताउँछन् ।

खडेरी परेका बेला सो तालमा पूजा गरेपछि आकाशबाट पानी पर्ने जनविश्वास छ । “लामो समयसम्म खडेरी पर्दा स्थानीयवासी भेला भएर पूजा गर्ने चलन छ” स्थानीय नवीन धिताल भन्नुहुन्छ “तालमा पूजा गरेपछि सानो–ठूलो पानी परेकै हुन्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार