बाप्पेलाई भित्र्याउन रियलले मोराटा र रोड्रीग्वेजलाई बेच्ने


एजेन्सी – स्पेनिस लिग च्याम्पियन रियल म्याड्रिडले एएस मोनाकोका युवा फरवार्ड किलियन बाप्पेलाई क्लबमा अनुबन्धित गर्न अल्भारो मोराटा र हामेस रोड्रीग्वेजलाई बेच्ने भएको छ। बाप्पेलाई आफ्नो टोलीमा सामेल गर्न रियल म्याड्रिड र पेरिस सेन्ट जर्मनबीच अहिले प्रतिस्पर्धा चलिरहेको छ ।
मोनाकोले बारम्बार बाप्पेलाई नबेच्ने बताएपनि पिएसजी र रियलले भने जसरी पनि उनलाई क्लबमा ल्याउने सुरमा रहेका छन्। स्पेनी पत्रिका मार्साका अनुसार पिएसजीले गरेको १ सय २० मिलियन युरोको प्रस्ताब मोनाकोले नकारीसकेको छ। यता म्याड्रिडले भने बाप्पे रियलमा आएको खण्डमा उनको तलब दोब्बर बनाउने प्रस्ताब पनि राखेको छ ।
रियलले बाप्पेलाई क्लबमा उनको स्थान पक्का रहेको र त्यसका लागि अहिलेका टोलीका केहि खेलाडीलाई बेच्ने योजना रहेको पनि खुलासा गरेको छ। गत सिजन पहिलो टोलीमा कम मौका पाएका मोराटा र रोड्रीग्वेजले क्लब छाड्ने भएका छन्। म्यानचेस्टर युनाइटेडले मोराटालाई किन्ने हल्ला भएपनि लुकाकु युनाइटेड आउने भएपछि उक्त सम्भावना  न्यून रहेको छ। एसी मिलानले मोराटालाई भित्र्याउन सक्ने सम्भावना बढेको छ ।
बाप्पेली गत सिजन मोनाकोका लागि २९ खेलमा १५ गोल गर्दै उपाधि दिलाएका थिए।रियलका प्रशिक्षक जिदानले फ्रान्सेली युवा खेलाडी बाप्पेलाई यस ट्रान्सफर विन्डोको मुख्य खेलाडीका रुपमा हेर्दै आएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार