गोर्खाल्याण्डको भोकहड्ताल स्थगित ।

टुरिजमन्युज, ३० असार । दार्जिलिङमा आमरण भोक हड्ताल तत्कालका लागि स्थगित हुने भएको छ। असार ३१ गतेदेखि सुरु गर्ने भनिएको गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेसन कमिटीले ‘गोर्खाल्याण्ड मागको निम्ति राष्ट्रिय सहमति जुटाउन’ भोक हड्ताल स्थगित गरेको हो।

यसघि आन्दोलनकै निरन्तरता स्वरुप कमिटीले दार्जिलिङको चौरास्तामा अनसन बस्ने निर्णय गरेको थियो। ‘गोर्खाल्याण्डको आन्दोलनलाई राष्ट्रिय रुप दिन शनिबारदेखि सुरु गरिने भनिएको आमरण अनसन केही समयका लागि स्थगित गर्ने निर्णय लिएका छौँ,’ कमिटिका संयोजक कल्याण देवानले कालेबुङमा भएको पत्रकार सम्मेलनमा भने।

केन्द्रमा हुन लागेको राष्ट्रपतिको चुनावलाई मध्यनजर राख्दै र भारतैभरि चलिरहेको आन्दोलनमा एकरुपता दिन पनि अनसनको कार्यक्रम स्थगित गरिएको देवानले बताए।

आन्दोनलका अन्य कार्यक्रमहरु पनि यथावत नै रहने उनले बताए। साउन ३ गते हुने कमिटीको बैठकबाट अनसन र आन्दोलनका अन्य कार्यक्रमहरुबारे पनि विस्तारमा छलफल गरेर नयाँ निर्णय लिने पनि उनले जानकारी दिए।

‘आमरण अनसनमा बस्नेहरु तयार थिए, नाम पनि आइसकेको थियो तर दार्जिलिङमा मात्र आमरण अनसन गर्नको साटो यसलाई राष्ट्रिय रुप दिन हामीले हालमा यस निर्णयलाई स्थगित गरेका हौँ,’ उनले पत्रकारहरुलाई भने, ‘यो एउटा निर्णायक हतियार हो हामी यसलाई सही समयमा प्रयोग गर्नेछौँ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार