राष्ट्रिय वन पुरस्कार मिलिजुली कबुलियती वन पाल्पालाई ।

टुरिजमन्युज ३० असार । वन विभागले यस वर्षको कबुलियती वन राष्ट्रिय पुरस्कार मिलिजुली कबुलियती वन पाल्पालाई प्रदान गरेको छ । विभागले हरेक वर्ष दिँदै आएको रु एक लाख राशिको पुरस्कार आज उक्त वनलाई प्रदान गरेको हो । विभागले उत्कृष्ट सामुदायिक वन राष्ट्रिय पुरस्कार नुवाकोटको छापगैरा सामुदायिक वनलाई दिएको छ ।

उक्त पुरस्कारको राशि नगद रु एक लाख रहेको छ । यस्तै, द्वितीय पुरस्कार हरियाली सामुदायिक वन कपिलवस्तुलाई रु ७५ हजार तथा तृतीय पुरस्कार निउरेनी चिसापानी सामुदायिक वन मकवानपुर र वनपाले सामुदायिक वन कास्कीलाई रु २५/२५ हजार दिएको छ ।

विभागले निजी वन राष्ट्रिय पुरस्कार माइजोगमाई गाउँपालिका निवासी कुशुम दाहाललाई प्रदान गरेको छ । दाहाललाई रु ७५ हजार प्रदान गरेको हो । यसैगरी सामुदायिक वन पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार शेरबहादुर केसी र कारोबार दैनिक पत्रिका पत्रकार प्रगति ढकाललाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

ती पुरस्कार प्रदान गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले सामुदायिक वनले पनि वन क्षेत्रको स्रोत व्यवस्थापनका लागि लोकतान्त्रिकरण गरेको बताउनुभयो । उहाँले समुदायले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र प्रतिफल लिने अधिकार प्राप्त गरेको स्पष्ट पार्नुभयो ।

वन तथा भूसंरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले वन क्षेत्रको विकास र विस्तारका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै आवश्यक नीति र नियम बनाउने कुरामा मन्त्रालयले सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

वन विभागका महानिर्देशक कृष्णप्रसाद पौडेलले वन क्षेत्र मानिसको आधारभूत आवश्यकताको क्षेत्र भएकाले यसलाई स्थानीय तहमा कसरी लैजाने भन्नेबारेमा विभागले छलफल सुरु गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार