भुटान एयरलाइन्सको जहाज भाडामा नलिने निगमको निर्णय ।

टुरिजमन्युज १ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भुटान एयरलाइन्सको जहाज भाडामा नलिने निर्णय गरेको छ । निगमको यो निर्णयसँगै झण्डै दुई महिना अन्तर्राष्ट्रिय उडान कटौती प्रभावित हुने भएको छ ।

निगमको एक मात्र बोइङ कलसाइन ९ एनएसिबी ५७५ विमान मर्मत गर्न सिङ्गापुर लगिने भएपछि मर्मत अवधिभर ४५ देखि ६० दिन भुटान एयरलाइन्सको विमान भाडामा लिने निर्णय गरेको थियो । तर, भुटान एयरलाइन्सको उक्त विमान पुरानो भएको र नेपाली हवाई नीतिअनुसार प्रयोग गर्न नमिल्ने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमान नलिने निर्णय गरेको थियो ।

मन्त्रालयको निर्णयअनुसार निगमले पनि भुटान एयरलाइन्सको जहाज नलिने निर्णय गरेको हो । निगमको बोइङ मर्मतका लागि गत शुक्रबार सिङ्गापुर पठाइएको निगमले जनाएको छ । बोइङ मर्मतमा गएपछि अन्तर्राष्ट्रिय उडान संख्या केही कटौती हुने निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले जानकारी दिनुभयो । उहाँले मर्मतअवधिभर निगमले कुनै पनि विमान भाडामा नलिने बताउनुभयो ।

निगमले एक बोइङ र दुई एयरबसबाट सातामा ३७ उडान भर्दै आएकामा बोइङ मर्मतमा गएपछि सातामा १७ उडान कटौती गरेको छ ।  बोइङ नभएपछि भारतको नयादिल्ली र बैंगलोर र मलेसियाको क्वालालम्पुरका केही उडान कटौती भएको निगमले जनाएको छ । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार बोइङ मर्मतमा गएपछि निगमलाई करोडौँ घाटा लाग्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार