सल्लेरी हुदै सगरमाथा क्षेत्र जाने पर्यटकीय मार्ग अबरुद्ध ।

टुरिजमन्युज ३ साउन । सोलुदुधकुण्ड नगरपालिका २ बेनीको त्याङमुजे  जंगलको भिर खस्दा सल्लेरी हुदै सगरमाथा क्षेत्र जाने एक मात्र पर्यटकीय मार्ग अबरुद्ध बनेको छ । सोमबार भिर खसेर सडकमा थुप्रिएकोपछि आवतजावत गर्नै नमिल्ने गरी पर्यटकीय मार्ग अबरुद्ध बनेको हो । माथिबाट ढुंगाहरु खसिरहेकाले सो मार्ग प्रयोग गर्न निकै जोखिम रहेको बेनीकी पसी शेर्पाले बताउनुभयो ।

बैकल्पिक मार्गहरु समेत नरहेकाले सो क्षेत्रमा आवतजावत गर्न निकै कठिनाई भएको बताईएको छ । पहिरो पन्छाउनेबारे हालसम्म कसैले चासो नदिएको माथिल्लो क्षेत्रका नागरिकहरुले गुनासो गरेका छन् । सो पदमार्ग हुदै पर्यटकीय क्षेत्रहरु टाक्सिन्दु, नुनथला खरिखोला हुदै सगरमाथा क्षेत्र जाने आउने गरिन्छ ।

यस्तै सो क्षेत्रमा सडक डिभिजन कार्यालय ओखलढुंगाले कटिङ, सोलिङ र ड्रेनको काम गरिरहेको छ । फाप्लुदेखि रिङमुसम्म सडकको स्तरोन्नतीको काम गरिरहेको डिभिजन कार्यालय ओखलढुंगाले बर्षाका कारण काम रोकिने अबस्थामा पुगेको जनाएको छ ।

हालसम्म टाक्सिन्दुको नुनथलासम्म सडकको ट्रयाक खोल्ने काम सम्पन भएको छ । जिल्ला समन्वय समितीको पर्यटन रोयल्टी वापतको रकम, साविकको गाविसबाट विनियोजित रकमबाट त्यहासम्म ट्रयाक खोल्ने काम पुरा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार