भूकम्पबाट क्षतिग्रस्त गुम्बाको अझै पुनःनिर्माण हुन सकेन’

टुरिजमन्युज ४ साउन । भूकम्पबाट क्षतिग्रस्त भएका बौद्ध सम्पदाको पुनःनिर्माण अझै शुरु हुन सकेको छैन् ।  मुलुकभर बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा एक हजार ३०० भन्दा बढी बौद्ध गुम्बा छन् । तीमध्ये नौ सय ९३ गुम्बा भूकम्पबाट क्षतिग्रस्त भएका थिए । उक्त गुम्बा पुनःनिर्माणका लागि विदेशी दातृ मुलुकबाट करिब रु आठ अर्ब ९३ करोड सहयोग प्राप्त भएको थियो ।

भूकम्प प्रभावित गुम्बा, विहार पुनःनिर्माण सङ्घर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले हालसम्म क्षतिग्रस्त गुम्बाको पुनःनिर्माण कार्यको थालनी नगरेको जानकारी दिइयो ।

सरकारले भूकम्पबाट क्षतिग्रस्त गुम्बालाई पाँच किसिमबाट वर्गीकरण गरी ‘क’ वर्गको ४९ गुम्बालाई रु एक करोड पाँच लाख, ‘ख’ वर्गको ६३ गुम्बालाई रु ८२ लाख, ‘ग’ वर्गको १९० गुम्बालाई रु ७१ लाख, ‘घ’ वर्गको गुम्बालाई रु ६१ लाख र ‘ङ’ वर्गको गुम्बालाई रु ५१ लाख दिने निर्णय गरेको थियो । उक्त वर्ग विभाजनलाई पनि सङ्घर्ष समितिले विरोध गरेको छ ।

सङ्घर्ष समितिका संयोजक सानुबाबु लामाले गुम्बाको पुनःनिर्माण कार्यको थालनी नभएको तथा बजेट बीचमा नै हराउने स्थिति आएको भन्दै त्यसविरुद्ध सरकारसमक्ष १० बुँदे माग बुझाइएको बताउनुभयो । उहाँले नयाँ कार्यविधि खारेजसहित पुनःनिर्माण कार्य शुरु नगरेमा यही साउन ८ गतेदेखि आन्दोलन गर्ने जानकारी दिनुभयो ।

पूर्वमन्त्री सूर्यमान गुरुङले गुम्बाभित्रका प्राचीन चित्र, मुर्ति तथा अन्य बहुमूल्य वस्तु संरक्षण तथा ती गुम्बा पनःनिर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै धर्म निरपेक्ष राष्ट्र घोषणा भइसक्दा पनि बौद्ध धर्म, संस्कति तथा गुम्बा संरक्षणमा सरकार उदासीन भएको आरोप लगाउनुभयो । उहाँले ९९३ क्षतिग्रस्त गुम्बामध्ये हालसम्म एउटा गुम्बाको पनि पुनःनिर्माण शुरु नगरेको बताउनभयो ।

धर्मगुरु ग्याल्सो लामाले गुम्बा पुनःनिर्माणका लागि दातृ संस्थाबाट आएको रकम कहाँ गयो भनी प्रश्न गर्दै गुम्बा विकास समिति तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गुम्बा पुनःनिर्माणमा चासो नदिएको आरोप लगाउनुभयो ।

यसैबीच भुकम्पबाट क्षति भएका सोलुखुम्बुका ४९ बटा गुम्बाहरुको सम्झौंता सकिएको छ । जिल्ला भुकम्प आपतकालिन आयोजना मार्फत ति गुम्वाहरुको सम्झौंता गरिएको हो । सम्झौंता सकिए पनि पुननिर्माणको काम शुरु भईसकेको छैन । सोलुखुम्बुलाई गुम्वै गुम्वा भएको जिल्लाको रुपमा लिईन्छ । यहा करिव ४ सय भन्दा बढी गुम्वाहरु रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार