जयरामघाटमा निर्माणाधीन पुलको स्टील ट्रष्ट जडान सकियो, चौतर्फी खुसियाली ।

टुरिजमन्युज ४ साउन । खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दूधकोशीस्थित जयरामघाटमा निर्माणाधीन पुलको स्टील ट्रष्ट जडान कार्य सम्पन्न भएको खबर सार्वजानिक भएलगतै चौतर्फी खुसियाली छाएको छ । खोटाङका बासिन्दा सहित खोटाङस्थित हलेसी महादेवको दर्शन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुमा खुसीयाली छाएको हो ।

बर्षौदेखि समस्या झेल्दै आएका उनीहरु सिधै राजधानी र तराईका जिल्लाहरुसग जोडिने भएपछि खुसी भएका हुन । यसअघि जयरामघाटमा पक्की पुल नहुँदा अस्थायी बेलिब्रिज सञ्चालन गर्ने गरिएको थियो । हिउँदभर सञ्चालन गर्ने र वर्षा लागेसँगै बेलिब्रिज झिक्ने गर्दा वार्षिक रु ६० लाख राज्यकोषको रकम खर्च हुने गरेको बताईएको छ ।

यसैबीच साउन महिनाभित्रै ढलानको काम सम्पन्न गरेर दशैँ अगाडि नै पुल सञ्चालनमा ल्याउने तयारी गरिएको ठेकेदार कम्पनीले जनाएको छ । ढलानका लागि फर्मा बिच्छ्याउन थालिएको र आवश्यक सामग्री समेत निर्माणस्थलमा ढुवानी गरिसकिएकाले भदौ अन्तिमसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको पुल निर्माण आयोजनाका प्रमुख इन्जोनियर उद्धव रानामगरले जानकारी दिनुभयो ।

निर्माणाधीन पक्की पुल जडानका लागि चीनबाट इन्जिनियर र सामग्री ल्याउनुपरेकाले पनि निर्माणमा ढिलाइ भएको इन्जिनियर मगरको भनाई छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०६६ साल भदौमा सम्झौता गरेर हुलास कालिका कन्ट्रक्सन जेभीले पुल निर्माणको जिम्मा लिएको थियो ।

पुल निर्माण सम्पन्न भएपछि जिल्लाको समृद्धिको ढोका खुल्ने खोटाङ क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद पाँचकर्ण राई (पिके)ले बताउनुभयो । राजधानी काठमाडौँ तथा तराईका जिल्ला प्रवेश गर्ने मुख्य मार्ग जयरामघाटको पुल बन्न नसक्दा जिल्लामा आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु भित्र्याउन तथा आवतजावतमा समस्या हुने गरेको छ ।

पुल निर्माणमा भइरहेको ढिलाइ र गुणस्तर कायम गर्नका लागि गत वैशाख २५ गते जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, प्रशासन, प्राविधिक, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ, पत्रकारलगायतको अनुगमन टोली निर्माणस्थल पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार