नेपाल पर्वतारोहण संघ (एनएमए)मा चुनावी रौनक, दुइ प्यानल निर्वाचनमा भिड्दै


नेपालको समग्र पर्यटन क्षेत्रको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए)मा चुनावी रौनक छाएको छ । एनएमएमा नयाँ नेतृत्वका लागि सहमतिको प्रयास पटकपटक भएपनि कुनै ठोस निष्कर्ष निस्कन नसक्दा निर्वाचन हुने पक्का भएको हो ।
निर्वाचनमा दुइ प्यानल देखिएको छ । एकातिर कांग्रेस निकट पर्यटन व्यवसायी संघ, एमाले र माओवादीका असन्तुष्ट पक्ष, नयाँ शक्ति तथा शेर्पा पर्यटन व्यवसायीको प्यानल रहेको छ । उक्त प्यानलले जिमाजाङबु शेर्पाको नेतृत्वमा निर्वाचनमा जाने निर्णय गरेको घोषणा गरेको छ । जसमा  प्रथम उपाध्यक्षमा भुमी लामा, द्वितीय उपाध्यक्षमा निमी शेर्पा, महासचिवमा कुलबहादुर गुरुङ, सचिवमा छेवाङ शेर्पा तथा काषाध्यक्षमा बिमल नहर्की उम्मेदवार बनाउने निर्णय प्यानलले गरेको महासचिवका उम्मेदवार कुलबहादुर गुरुङले बताउनुभयो ।
अर्कातिर एमाले र माओवादी निकट पर्यटन व्यवसायी संगठनबीच तालमेल देखिएको छ । शनिवार साँझ भएको छलफलले निर्वाचनका लागि तालमेल भएको घोषणा गरेको हो । दुई संगठनबीच भएको सम्झौता अनुरुप सन्तवीर लामाको नेतृत्वमा निर्वाचनमा जाने भएको हो । जस्मा प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह, द्वितीय उपाध्यक्ष शेर्पा समुदायका लागि सुरक्षित राखिएको, महासचिवमा बोधराज भण्डारी, सचिवमा टिका गुरुङ र कोषाध्यक्षमा सुदर्शन न्यौपानेलाई उम्मेदवारी बनाउने निर्णय भएको छ । सदस्यहरुको भने टुंगो लागि सकेको छैन ।
सहमतीय नेतृत्वका लागि विभिन्न राजनीतिक दलप्रति आस्था राख्ने संगठनबीच एउटै नेतृत्वका लागि पटकपटक छलफल र वार्ता भए पनि सहमति हुन नसकेपछि पर्यटन व्यवसायीहरु निर्वाचनमा होमिएका हुन् ।
लगभग १५ सय साधारण सदस्य रहेको एनएमएमा एक हजार ३९ जना भोर्टस रहेका छन् । साउन २१ गते हुने निर्वाचनलाई  कम खर्चिलो बनाउन सक्दो प्रयास गरिने उम्मेदवारहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार